रेलिगेसन जोनबाट माथि उक्लियो फ्रेन्ड्स, चर्च ब्वाइजसँग थ्री स्टारले अंक बाँड्यो

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै फेन्ड्स रेलिगेसन जोनबाट माथि उक्लिएको छ भने अर्को खेलमा चर्च ब्वाइज र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै फेन्ड्स क्लब रेलिगेसन जोनबाट माथि उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनको दोस्रो खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको हो।

फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे। टोरिक जेब्रिन, अमित तामाङ, उत्तम राई र अखरबेक उक्तामोभले एक/एक गोल गरे। खेलको तेस्रो मिनेटमै राफिकको गोलमार्फत् फ्रेन्ड्सले अग्रता लिएको थियो। ३२औँ मिनेटमा अखरबेक गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको ६ मिनेटमै राफिकले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे।

पहिलो हाफमै ३-० गोलको अग्रता लिएको फ्रेन्ड्सले दोस्रो हाफमा पनि आक्रमक खेल प्रस्तुत गर्‍यो। ५८औँ मिनेटमा अमितले पेनाल्टीमार्फत् गोल गरे। ७२औँ मिनेटमा सिक्किमका उत्तरले गोल गर्दै फ्रेन्ड्सको अग्रता ५–० मा पुर्‍याए। दोस्रो हाफको इन्ज्युरी समयमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई ६–० गोल अन्तरको फराकिलो जित दिलाए।

फ्रेन्ड्सको जारी लिगमा यो दोस्रो जित हो। अंक तालिकाको पुछारमा फ्रेन्ड्सले ३ अंक थप जोडेको छ। ९ खेलबाट ८ अंक जोडेको फ्रेन्ड्स तालिकाको १२औँ स्थानमा पुगेको छ। समान खेल खेलेको हिमालयनको ९ अंक छ। हिमालयन ११औँ स्थानमा रहेको छ।

चर्च ब्वाइजसँग थ्री स्टारले बाँड्यो अंक
च्यासल मैदानमा सोमबार सम्पन्न अर्को खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ। थ्री स्टार छैटौँ स्थानमा रहेको छ। समान अंक जोडेको चर्च ब्वाइज तेस्रो स्थानमा उक्लिएको छ।