गौरवका आयोजना छिटो सक्ने गरी नीतिगत निर्णय गर्न सरकारसँग सांसदहरूको माग

राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन्।

तस्वीर : रासस

काठमाडौँ– राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा पेस गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदै राष्ट्रियसभाका सांसदहरू अनिता देवकोटा, रामचन्द्र राई, सोनाम ग्याल्जेन शर्पालगायतले राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन सरकारलाई दबाब दिएका हुन्।

बैठकमा बोल्दै सांसद देवकोटाले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न हुने गरी र समस्या उत्पन्न नहुने गरी आवश्यक निर्णय लिन सरकारलाई आग्रह गरिन्। उनले सो आयोजनाको कामलाई अघि बढाउनका लागि अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

"राष्ट्रिय गौरवका आयोजनाहरूलाई काम गर्न कुनै पनि समस्या नआउने गरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्‍यो । वनले वा कुनै पनि निकायले नरोक्ने गरी राष्ट्रिय गौरवका आयोजनाहरू छिटो र छरितो रूपमा अघि बढाउनु पर्दछ” उनले भनिन्।

अर्का सांसद रामचन्द्र राईले काठमाडौँ–तराई द्रुतमार्गअन्तर्गतको खोकना र बुङमतीको जग्गा अधिग्रहणको विवाद अझैसम्म टुंग्याउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गर्न ढिलाइ नगर्न पनि सरकारलाई उनले सचेत गराए। “अन्तर मन्त्रालयको समन्वय भएन। यसलाई समन्वय गरेर यी कामहरू कहिले गर्छ ? जवाफ पाउँ,” उनले भने।

सरकार संसद् र संसदीय समितिप्रति जबाफदेही नभएको गुनासो सांसद सोनाम ग्याल्जेन शेर्पाले गरे। उनले समितिहरूले दिएको निर्देशन कार्यान्वयन गर्नभन्दा पनि सरकार र सरकारका मन्त्रीहरू झारा टार्ने खालको काममा मात्रै लाग्ने गरेको भन्दै आपत्ति जनाए।

सांसद शेर्पाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अघि बढाउने विषयमा तत्काल आफ्नो धारणा सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दिगोपनाबारे आवश्यक योजना तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सुझाव दिए।