नेप्से परिसूचक ३९.९२ अंकले बढ्दा ६ अर्ब २८ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ३९.९२ अंक अर्थात् १.५५ प्रतिशतले बढेर २,६०० को विन्दुमा पुगेको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंक अर्थात् १.५५ प्रतिशतले बढेर २,६०० विन्दुमा पुगेको छ।

यस दिन कारोबार रकममा पनि अघिल्लो कारोबारको तुलनामा उल्लेख्य वृद्धि भएको छ। आइतबार ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा कुल ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बिहीबार चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो।

कारोबारमा म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढेका छन्। म्युचुअल फन्ड समूहको उपसूचक भने ०.२३ प्रतिशतले घटेको छ। यस दिन सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक २.५५ प्रतिशतले बढेको हो।

सागर डिस्टिलरी, बन्दीपुर केबलकार एन्ड टुरिजम र झापा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सबैभन्दा बढी गुमाउने पिपुल्स हाइड्रोपावर रह्यो, जसको शेयर मूल्य ७.५६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा बढी ६५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। शेयर संख्याका आधारमा भने पिपुल्स हाइड्रोपावरको ११ लाख ८६ हजार ७८ कित्ता शेयर किनबेच भएको छ।