आइतबार साँझसम्म ६६ जिल्लामा एक हजार ४५४ जनामा डेंगु संक्रमण देखिएको छ।
काठमाडौं– यो वर्ष मनसुन अन्त्यतिर काठमाडौंलगायत देशभर डेंगुका बिरामी बढ्दै गएका छन्। आइतबार साँझसम्म ६६ जिल्लामा एक हजार ४५४ जनामा डेंगु संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत चीरजन्य रोग शाखा प्रमुख डा. गौतम ढकालका अनुसार गत वर्ष डेंगु संक्रमणबाट ५४० जना बिरामी परेका थिए। त्यस्तै, सन् २०२० मा ५३० जना बिरामी परेका थिए। सन् २०१९ मा डेंगु ‘आउट ब्रष्ट’ नै भएको उनी बताउँछन्।
त्यो वर्ष १७ हजार ९९२ जना संक्रमित भएका थिए। सन् २०१८ मा ८११ संक्रमित अस्पतालको सम्पर्कमा पुगेका थिए। ‘विगतका वर्षको यही अवधिको तुलनामा यस वर्ष डेंगु संक्रमण बढेको छ,’ डा. ढकाल भन्छन्, ‘प्रायः भदौ र असोजबाट सुरु हुने डेंगु संक्रमण यस वर्ष जेठदेखि नै भयो।’ भदौ बल्ल सुरु भएको र असोज बाँकी रहेकाले यस वर्ष डेंगु संक्रमितको संख्या उच्च हुनसक्ने उनको अनुमान छ।
कुनै समय नेपालको तराई क्षेत्रमा मात्र डेंगुको संक्रमण हुन्थ्यो। तर, लामखुट्टे हिमाली भेगतिर समेत पुग्न थालेपछि डेंगु पनि पहाड हुँदै हिमाली भेगसम्म पुगेको डा. ढकाल बताउँछन्। उनी भन्छन्, ‘तराईबाट डेंगु माथितिर उक्लिसकेको छ। जुम्ला, रुकुमजस्ता हिमाली क्षेत्रका पनि बिरामी भेटिएको रिपोर्ट आइरहेका छन्।’ तर, बढीजसो सहरी क्षेत्रमा नै डेंगु संक्रमण धेरै हुने उनको भनाइ छ।
वर्षा सुरु भएसँगै संक्रमित बढेकाले यस वर्ष जोखिम धेरै भएको अर्का डेंगु रोग विशेषज्ञ डा. बाबुराम मरासिनी बताउँछन्। चैतबाटै सुरु भएको प्रिमनसुनपछि लगातार पानी परिरहेकाले संक्रमित बढेको उनको भनाइ छ। ‘प्रायः प्रिमनसुन र मनसुनबीचमा केही दिन खडेरी नै हुन्थ्यो। यस वर्ष त्यस्तो भएन। ९–१० दिनको फरकमा पानी निरन्तर परिरह्यो। यसले डेंगु संक्रमणलाई प्रश्रय दियो,’ डा. मरासिनी भन्छन्, ‘वर्षायाम डेंगु रोग सार्ने लामखुट्टेले अण्डा पर्ने उपयुक्त याम हो। यस वर्ष चैतबाटै वर्षा सुरु भयो।’
फालिएका टायरमा पानी जम्दा झनै जोखिम
एडिस एजिप्टाइ र एडिस एल्गोपिक्टस नामक दुई प्रजातिका लामखुट्टेले डेंगु सार्ने डा. मरासिनी बताउँछन्। यी लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर निरोगीलाई टोक्यो भने डेंगु सर्छ।
डेंगु सार्ने प्रजातिका लामखुट्टेले सफा पानीमा अण्डा पार्छन्। एक हप्तामा अण्डाबाट लामखुट्टे हुर्किसक्छ। छोटो अवधिमा अण्डाबाट लामखुट्टे निस्किएर वयस्क भइसक्ने हुनाले डेंगु छिटो फैलने चिकित्सकहरुको भनाइ छ।
एडिस प्रजातिका लामखुट्टेका लागि बेवास्ता गरी फालिएका टायर सबैभन्दा सुरक्षित बासस्थान हुने डा.मरासिनी बताउँछन्। घरको कम्पाउन्ड, वर्कसप आदि ठाउँमा राखिएका टायरमा जमेको पानीमा यो प्रजातिका लामखुट्टेले अण्डा पार्ने उनले बताए।
भुइँमा जमेको पानी अथवा पोखरीमा लामखुट्टेका अण्डा भ्यागुताले खाइदिने सम्भावना हुन्छ। यसकारण पनि लामुखट्टेको लागि टायर सुरक्षित स्थान हुन्छ। ‘हप्ता वा १० दिनसम्म पनि टायरमा पानी रहेमा यस्ता लामखुट्टेको संख्या वृद्धि हुन्छ। यस कारण टायरको सही प्रयोग र विसर्जनबारे कानुन नै बनाउनुपर्छ,’ डा. मरासिनी भन्छन्।
संक्रमण, लक्षण र बच्ने तरिका
डा. ढकालका अनुसार एउटा लामखुट्टेले चारदेखि पाँच जनामा डेंगु सार्न सक्छ। सामान्य अवस्थाका डेँगुका बिरामीमा लक्षण नदेखिने हुँदा रोग लागेको थाहा पाउन मुस्किल हुन्छ। संक्रमण बढ्दै जाँदा ज्वरो आउने, मांसपेसी दुख्ने, शरीर शिथिल हुने, वान्ता आउनेलगायत लक्षण देखिन्छन्। जटिल अवस्था भएपछि शरीरका विभिन्न भागमा रातो–निलो डाम देखिने, नाक तथा गिजाबाट रगत बग्ने हुनथाल्छ।
समयमा नै उपचार नभए डेंगुकै कारण मृत्यु पनि हुनसक्ने डा. मरासिनी बताउँछन्। तर, समयमै उपचार भए यो रोग प्राणघातक नभएको उनको भनाइ छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन जोड दिनुपर्ने उनले बताए। ‘रोग लागिहाले लक्षणअनुसार उपचार हुन्छ। जटिल अवस्थामा विषेशज्ञको निगरानीमा उपचार गर्नुपर्छ,’ उनले भने।
डेंगुबाट बच्न लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने डा. मरासिनीको भनाइ छ। सुत्दा झुल लगाउने, लामखुटटेबाट बच्न सकिने मलम लगाउने, शरीर पूरा ढाक्ने कपडा लगाउने, घर वरपर लामखुट्टे हटाउन पानी जम्न नदिने जस्ता उपाय गर्नुपर्ने उनले बताए। गमलामा पनि पानी जम्ने हुँदा त्यस्ता सामग्री प्रयोगमा सचेत हुनुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
