रौतहटमा गोली लागेर १ जनाको मृत्यु, ३ घाइते

रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धि विवादका क्रममा गोली प्रहार हुँदा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ।

रौतहट– गढीमाई नगरपालिका–८ धोबिनियामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।

विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको रौतहटका एसपी वीरबहादुर बुढामगरले बताए। गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो।

गोली लागेर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। गोली कसले चलायो भन्ने खुल्न सकेको छैन। गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन्।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिकाले निर्माण गरिरहेको सडकमा पर्ने जग्गाका विषयमा स्थानीयबीच शनिबार दिउँसोदेखि विवाद भएको थियो।

घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको छ।