जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउन आवश्यक : ओली

राष्ट्रहित र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनुपर्ने अध्यक्ष ओलीले बताएका छन्। 

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।

नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे।

राष्ट्रहित र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको अध्यक्ष ओलीको भनाइ थियो।

“अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ,” ओलीले भनेका छन्।

राष्ट्रिय हितलाई तिलाञ्जलि दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको ओलीले बताएका छन्।