आईसीसीको नियमअनुसार मूलपानीमा निर्माणाधीन तल्लो मैदानमा ‘बाउन्ड्री लाइन’ ठिक्क हुन्छ। त्यसलाई समेत मिचेर प्यारापेट बनाइयो भने अन्तर्राष्ट्रिय क्रिकेटको मापदण्ड नै पुग्दैन।
काठमाडौँ– मूलपानीमा दुई वटा क्रिकेट मैदान छन्, तल्लो र माथिल्लो। माथिल्लो क्रिकेट मैदान निर्माण थालेको १८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता हुने तरखरमा छ। तल्लो मैदान निर्माण थालेको पनि उति तै वर्ष भयो, तर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य हुने छाँटकाँट छैन।
तल्लो मैदान रंगशालासहितको हो। माथिल्लो मैदानमा प्यारापेट हुने छैन। मूलपानीको माथिल्लो र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी वैशाख ५ गतेदेखि एसीसी प्रिमियर कप हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले सबै २० खेलको बोझ थेग्न नसक्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले विकल्पको रूपमा मूलपानीस्थित माथिल्लो मैदान रोजेको हो।
यो मैदानमा ११ खेल हुनेछन्। यसका लागि क्यानले एसियन क्रिकेट काउन्सिल (एसीसी)बाट अनुमति पाइसकेको छ।
तर, निर्माण शुरू भएको झन्डै दुई दशक बितिसक्दा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वामित्वको तल्लो मैदानमा फाटफुट हुने विद्यालय स्तरीयबाहेक अन्य प्रतियोगिता खेल्न योग्य छैन। तल्लो मैदान खेल्नयोग्य नभएकै कारण माथिल्लो मैदान मर्मत गरेर प्रतियोगिता गराउन लागिएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक बताउँछन्।
“अहिलेको अवस्थामा प्रतियोगिता तल्लो मैदानमा खेलाउन सम्भव छैन। त्यहाँ खेलाउने तयारी पनि गरिएको छैन। १० टोली आउने भएको कारण नेट प्राक्टिस गर्न हामीले राखेपसँग तल्लो मैदान मागेका छौँ। त्यहाँ अभ्यास मात्रै हुन्छ,” पाठक भन्छन्।
रंगशाला बनाउन आएको एसीसी भवन बनाएर फर्कियो
न्युजिल्यान्डमा सन् २००२ मा भएको आईसीसी यू–१९ विश्वकपमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै सनसनी मच्चाएको थियो। त्यसको केही समयपछि नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालमा ग्लोबल क्रिकेट एकेडेमी बनाउने प्रस्ताव ल्यायो।

त्यतिबेला राखेपका सदस्यसचिव विनोदशंकर पालिखे थिए। पालिखेको कार्यकाल सकिएपछि राखेपमा आएका किशोरबहादुर सिंहले आईसीसीको प्रस्तावअनुसार एकेडेमीका लागि जग्गा खोज्न शुरू गरे।
सिंहले एकेडेमीका लागि पोखरा र मूलपानी सुझाएका थिए। यसले क्यानभित्र कलह निम्त्यायो। मौसम बाधक हुने भएकोले पोखरामा नबनाउने अडानमा तत्कालीन अध्यक्ष जयकुमारनाथ शाह थिए। तर तत्कालीन महासचिव विनयराज पाण्डे पोखरामै बनाउने अडानमा थिए। त्यतिबेला गोकर्णमा ल्यान्डफिल साइट भएकाले मूलपानीमा मैदान बनाउन नहुने उनको अडान थियो।
अन्त्यमा मूलपानीमै रंगशाला बनाउने निर्णय भयो। तत्कालीन स्थानीय विकास मन्त्रालय मातहतको फोहोरमैला व्यवस्थापन केन्द्रको स्वामित्वको मूलपानीस्थित जग्गा २०६० सालमा राखेपलाई हस्तान्तरण भयो। त्यसको एक वर्षपछि ३६५ रोपनी पर्ती जग्गा स्थानीयले क्रिकेटका लागि सरकारमार्फत राखेपलाई भोगाधिकार दिए।
मूलपानीमा २० हजार दर्शक क्षमतासहितको रंगशाला बनाउने भनिएको थियो। त्यहाँ पेभेलियन, मिडिया बक्स, जिम हल, स्विमिङ पुल, इन्डोर हल, खेलाडी बस्ने सुविधासम्पन्न होटललगायतका संरचना बनाउने योजना थियो।
त्यसका लागि एसीसीले सहयोग गर्ने घोषणा गरेको थियो। तर, उसले ‘लेभल’ मिलेको जग्गा उपलब्ध गराउनु पर्ने शर्त अगाडि सार्यो। सरकारले जग्गा उपलब्ध गराएपछि सम्म्याउन थालियो। त्यसको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको थियो। उक्त जग्गा अहिले रंगशाला बनिरहेको तल्लो मैदान नभई माथिल्लो मैदान थियो।
रंगशाला बनाउने भनिएको जग्गाको अनुगमनका लागि एसीसीले विज्ञ टोली पठाएको थियो। तर, काम थालिएको ठाउँ अपुग भयो। त्यहाँ मैदान मात्र बन्ने भएपछि एसीसी अहिले क्यानको कार्यालय रहेको भवन मात्र बनाएर फर्कियो।
तत्कालीन महासचिव पाण्डे एसीसीलाई एकेडेमी बनाउने गरी जग्गा चाहिएको र उपयुक्त जग्गा दिन नसकेपछि फर्किएको दाबी गर्छन्। “एसीसीका लागि जग्गा खोज्न नै चार वर्ष लाग्यो। हामीले नै अलमल गर्यौँ। त्यहाँ (मूलपानीमा) पनि जग्गा सानो भयो। त्यसपछि माथिल्लो बिल्डिङ बनेपछि एसीसी फर्कियो,” उनले भने।
एसीसी फर्किएपछि मैदान अभ्यास गर्न योग्यसमेत बनाइएन। सन् २०१० मै उक्त (माथिल्लो) मैदानमा डिभिजन–५ अन्तर्गतको एक खेल खेलाउने योजना उतिबेलै बनाएको तत्कालीन महासचिव पाण्डे बताउँछन्। तर, त्यस ब्याचका महबुब आलम, विनोद दास, पारस खड्का, परेश लोहोनीलगायत खेलाडीले बल र ब्याट थन्काइसक्दा मूलपानी मैदानमा राष्ट्रियस्तरको प्रतियोगिताका लागि समेत योग्य पिच थिएन।
आगामी एसीसी प्रिमियर लिग खेलाउने मौका पाएपछि त्रिवि क्रिकेट मैदानले मात्रै सबै खेलको धान्न नसक्ने अवस्था भयो। त्यहीकारण बाध्य भएर पिचका लागि अन्यत्रबाट माटो ल्याएर माथिल्लो मैदान खेल्न योग्य बनाइएको पूर्वकप्तान समेत रहेका क्यानका म्यानेजर दास बताउँछन्।
“यो (माथिल्लो) मैदान यतिकै रहेकोले सामान्य मर्मत गरेर खेलाउन योग्य बनाएका छौँ। अन्तर्राष्ट्रिय भेन्यूका लागि स्वीकृति पनि पाइसकेका छौँ। अब हामी कीर्तिपुर र मूलपानीको दुईवटै मैदान प्रयोगमा ल्याउने प्रयास गर्छौँ। यसका लागि राखेपसँग पहल पनि गरिरहेका छौँ,” दास भन्छन्।
जग्गा अपुग, कहाँ बन्छ प्यारापेट?
एकेडेमी बनाउने योजना छाडेर एसीसी फर्किएपछि सरकार आफैँले तल्लो भागमा रंगशाला बनाउने योजना ल्यायो। त्यसका लागि २०६८/६९ सालको बजेटमै १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। त्यसयता हरेक वर्ष उक्त रंगशालाका लागि बजेट छुट्याउँदै आएको छ।
राखेप सदस्यसचिव टंकलाल घिसिङ बजेट अभाव नरहेको बताउँछन्। यो वर्ष मूलपानी क्रिकेट मैदानका लागि सरकारले थप ७ करोड बजेट छुट्याएको उनले जानकारी दिए। तर, समयमै सरकारले बजेट उपलब्ध नगराउँदा काम अगाडि बढ्न नसकेको उनको तर्क छ।
“सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूलपानी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। त्यसैले बजेटमा कुनै समस्या छैन। तर, गत वर्ष ठेकेदारले बजेट नहुँदा काम नै गरेन। अहिले काम अगाडि बढिरहेको छ। अब चाँडै पूरा होला,” उनी भन्छन्।
उनका अनुसार राखेपले रंगशालाको नयाँ ब्लकका लागि छुट्टै टेन्डर आह्वान गर्न तयारी गरेको छ। यसका लागि सरकारसँग विनियोजन गरिएको बजेट मागेर अगाडि बढ्ने उनको भनाइ छ।
काठमाडौँको जिल्लास्तरीय क्रिकेट खेलाडी पनि रहेका स्थानीय तुलसी कार्कीका अनुसार मैदान मासेर प्यारापेट बनाए अन्तर्राष्ट्रिय मान्यता पाउने छैन। अहिले मैदानको बाउन्ड्री लाइन ६५ गज छ। आईसीसी प्लेइङ कन्डिसन (कानून १९.१.३) अनुसार बाउन्ड्री लाइन पिचबाट ९० गज (८२.२९ मिटर) भन्दा लामो र ६५ गज (५९.४३ मिटर) भन्दा कम हुनु हुँदैन।
एसीसीका प्रतिनिधि आएर नाप्दा अन्तर्राष्ट्रिय मान्यता पाउन ठिक्क देखिएको कार्कीको दाबी छ। प्यारापेट बनाएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न तल्लोबाट माथिल्लो मैदानतिर जाने सडक नै सार्नु पर्ने एसीसीले सुझाव दिएको उनले बताए। तर, राखेपले भने सडक सार्न कुनै पहल गरेको नै छैन।
“एकपटक एसीसीका प्रतिनिधि आएर मैदान नाप्नु पनि भयो। उहाँहरूको सुझावअनुसार मैदानलाई अझै विस्तार गर्नुपर्छ। नत्र अन्तर्राष्ट्रिय मान्यता नपाउने खतरा देखिन्छ,” कार्की भन्छन्।
सडक सार्नका लागि स्थानीय तहको समन्वय आवश्यक हुन्छ। तर, रंगशाला बनिरहेको कागेश्वरी मनहरा नगरपालिका–६ का वडाध्यक्ष प्रकाश फुयाँल आफूहरूसँग राखेप र क्यानले समन्वय नै नगरेको बताउँछन्। रंगशाला निर्माणस्थल हुँदै गएको बाटो सार्न सरकारले बजेट व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।
“मास्टर प्लानअनुसार बाउन्ड्री बनाउन थाल्दा नै साँघुरो हुने देखिसकेका थियौँ। त्यसैले बाटो सार्नुपर्छ भनेर हामीले भनेका थियौँ। ११ मिटर जग्गा साइडबाट छाड्न ठीक बनाइसकेका थियौँ। तर, सरकारले बजेट नै हाल्दैन, काम नै गर्दैन। ठेकेदार पनि उस्तै छ। त्यसैले गति लिन सकेको छैन,” वडाध्यक्ष फुयाँल भन्छन्।
यता, कागेश्वरी मनहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की पनि आफू मूलपानीमै रंगशाला बन्नुपर्छ भन्ने पक्षमा रहेको र राखेपलाई सहयोग गर्न तयार रहेको बताउँछन्। राखेपले सडक सार्दिन सहयोग मागे समन्वय गर्न सकिने पनि उनी बताउँछन्।
उक्त मैदान बनाउन राखेपभन्दा बढी क्यानलाई चासो हुनुपर्ने तत्कालीन महासचिव पाण्डे बताउँछन्। तर, क्यानका पदाधिकारीकै बेवास्ताले योजना पूरा नभएको उनको भनाइ छ। “क्रिकेटले पछिल्लो समय ठूलो फड्को मारेको छ। सरकार पनि तातेको छ। यस्तो अवस्थामा राखेपले पहल गर्न सकेन भने क्यान अगाडि बढ्नुपर्छ,” पाण्डेले भने।
कहिले बन्छ रंगशाला?
निर्माणको ठेक्का पाएको प्रेरा मुन्ना एन्ड आचार्य जेभी कम्पनीले ११ वर्षमा भीआईपी र खेलाडी बस्ने प्यारापेट र त्यसको तीन वटा ब्लक मात्र ठड्याएको छ। अहिले अधिग्रहण गरिएको ३५६ रोपनी जग्गा पनि खुम्चिएर २९६ रोपनीमा झरिसकेको छ।
६९ रोपनी जग्गा सुकुमबासीका नाममा कब्जा भएको छ। मिचिएको जग्गामा २०/२५ वटा पक्की घर नै बनिसकेको एक स्थानीय बताउँछन्। “सरकारको काम ढिलासुस्ती हुँदा केहीले पक्की घर नै खडा गरिसके। ती घर अब हटाउन मुस्किल छ। भीभीआईपी र खेलाडी नै बस्ने भएको कारण त्यहाँ सुरक्षाको कुरामा पनि प्रश्न उठ्छ। तर, कसैले चासो दिएको छैन,” उनी भन्छन्।
शुरूमा तल्लो मैदानमा सम्पूर्ण भौतिक संरचना निर्माण गर्न करिब ८० करोड रुपैयाँ लाग्ने अनुमान राखेपको थियो। ठेकेदार कम्पनीसँग २०७१ माघमा भएको ठेक्का सम्झौताअनुसार २०७३ असार मसान्तसम्ममा पहिलो चरणको मैदान निर्माण सक्नुपर्ने थियो। पहिलो चरणको ठेक्का सम्झौताअनुसार १७ करोडमा मैदान सम्म्याउने र तीनवटा प्यारापेटको ब्लक बनाउनुपर्ने थियो।
तर, मुआब्जा विवाद, भूकम्प, नाकाबन्दी र कोरोना महामारीलाई देखाउँदै कम्पनीले तीनपटक म्याद थप्यो। पहिलो र दोस्रो चरणमा ६–६ महिना म्याद थप गरिएको थियो। दुई पटकको म्याद थपमा काम नसकेपछि २०७४ असोज मसान्तसम्म सक्ने गरी तीन महिनाको समय थप गरियो।
उक्त म्याद पार भएको साढे पाँच वर्षभन्दा बढी भइसकेको छ। सरकारले अन्तिमपटक गत असोजसम्म काम सक्नेगरी ३८ करोड रुपैयाँ बजेट छुट्याएको थियो। तर, अहिलेसम्म २० प्रतिशत काम मात्र सकिएको छ।
दोस्रो चरणको ठेक्कामा एउटा भीआईपी बक्स र प्यारापेट बनाएको छ। अर्को प्यारापेटको लागि जग हालेर पिल्लर हाल्ने काम भइरहेको छ। त्यस्तै, अर्को एउटा प्यारापेट र पार्किङ बनाउनै बाँकी छ।
यो सबै संरचना निर्माण गर्न ४० करोड बढी बजेट खर्च गर्नुपर्ने भएको छ। अब यो रंगशालाको काम सक्ने १ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको राखेपले मूलपानी क्रिकेट मैदानको रेखदेख र समन्वयको जिम्मा दिएका आरके विष्ट बताउँछन्। “अझै पनि ५०/६० करोड बजेट विनियोजन गर्नुपर्छ जस्तो लाग्छ। तर, अहिलेको जस्तो वार्षिक रूपमा ६/७ करोड छुट्टाएर एक दुई वर्षमै बन्छजस्तो लाग्दैन,” उनी भन्छन्।
यद्यपि, ठेकेदार कम्पनीका ध्रुव रिजाल अहिलेकै गतिमा अझै एक वर्षमा मात्र काम सकिने बताउँछन्। “देशमा आएको महामारी र प्राकृतिक विपत्तिले काम धेरै गर्न सकिएन। कहिले झरी त कहिले बजेट अभावले पनि काम रोकिरह्यो। अहिले अर्को प्यारापेटको काम शुरू गरिसकेका छौँ। अब एक वर्षमा सकिन्छ,” उनी भन्छन्।
तर, ‘कमेन्टेटर’ तथा स्थानीय हेल्मो शेर्पा ठेकेदारले यसरी नै ७/८ वर्षदेखि झुलाइरहेको आफैँले देखेको कारण विश्वास गर्न सकिने अवस्था नरहेको बताउँछन्। “७/८ वर्षदेखि यस्तै देखिरहेको छु। कलेज र विद्यालयस्तरको प्रतियोगितामा म कमेन्ट्री गरिरहन आउँछु। तर, अहिलेसम्म खेल्नलायक पिचसमेत बनेको छैन। यही गतिमा गए अर्को १० वर्षसम्म पनि मैदान बन्छ भन्ने अवस्था छैन,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किसन पाण्डे
