नलिन्चोकमा हेलिप्याड निर्माण प्रक्रिया रोक्न उच्च अदालतको अल्पकालीन आदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन भन्दै प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण थालेको थियो।

काठमाडौँ– भक्तपुरको सूर्यनिनायक नगरपालिका–१० नलिन्चोकमा हेलिप्याड निर्माण कार्य स्थगित गर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकनलगायत कुनै पनि अध्ययन र आफूहरूसँग समन्वय नगरी हेलिप्याड बनाउन थालेको भन्दै स्थानीयले रिट दायर गरेका थिए।

पाटन उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्राधिकरणलाई आदेश दिएको छ। साथै छलफलका लागि वैशाख ५ गते दुवै पक्षलाई बोलाएको छ।

निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा विषयवस्तुको गाम्भीर्यता तथा संवेदनशीलतालाई हेर्दा दुवै पक्ष राखी छलफल गरी निष्कर्षमा पुग्नु उपयुक्त हुने आदेशमा उल्लेख छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन भन्दै प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माणको प्रक्रिया थालेको थियो।

प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउन थालेको हो। त्यहाँ हेलिप्याड निर्माण भए आफूहरूको शिक्षा, स्वास्थ्य, वातावरणीय, सम्पत्ति तथा आवास सम्बन्धी हकमा बन्देज लाग्ने भएकाले योजना स्थानीयको हितमा नरहेको रिट निवेदनमा उल्लेख छ। 

प्राधिकरणले आगामी वर्षमा नै हेलिप्याड सञ्चालनमा ल्याइसक्ने गरी ‘मिनी एयरपोर्ट’ का रूपमा काम अगाडि बढाएको छ। हाल सञ्चालनमा रहेका १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर त्यहाँ अवतरण गरिनेछ। निर्माणको जिम्मा १५ करोड रुपैयाँमा उमा एन्ड कम्पनीले पाएको छ।

निर्माण सम्पन्न भएपछि हेलिप्याड स्थानान्तरण र नेपाली सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्यांगर हब विस्तार गर्ने योजना छ।

हेलिप्याड क्षेत्रमा इन्धनका लागि एउटा स्थायी ट्यांकी, फायर फाइटिङ कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकोप्टर कम्पनीका लागि कार्यालय, कन्फेक्सनरी सप, ह्यांगरलगायत संरचनासमेत निर्माण  हुनेछन्।