'हिजो ७० करोडका लेनदेनमा केही नहुने अनि केही गर्छु भनेर आएको पार्टीलाई चाहिँ सामान्य विषयमा खेद्ने?' जस्ता कच्चा तर्क पनि हुन थालेका छन्। रास्वपा यही तर्कको पछि लाग्ला या चिरेर अघि बढ्ला?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईंको संवाद भनेर केही मिडिया र पछि सामाजिक सञ्जालमा एउटा अडियो सार्वजनिक भयो। अडियो बाहिरिएको केही बेरमै सामाजिक सञ्जाल तरङ्गित हुन थाल्यो! नहुनु पनि किन? स्थापित र पुराना राजनीतिक पार्टीप्रतिको आक्रोशलाई ऊर्जामा परिवर्तन गर्ने ठाउँ र आशाको केन्द्रका रूपमा रास्वपा उदाउँदै गरेको अवस्थामा त्यही पार्टीका एक जिम्मेवार सांसदको आवाजमा एक व्यवसायीसँग २ करोड रुपैयाँ 'बार्गेनिङ डिल रकम'का रूपमा मागेको तथ्य अति गम्भीर हो।
अडियो टेप सुनेपछि जोसँग पैसा माग गरियो, ती व्यवसायीका केही 'नीतिगत बाधा-अड्चन फुकाइदिने' आश्वासन श्रेष्ठले दिएको बुझ्न सकिन्थ्यो। लेखमा अडियोको प्रसंग धेरैपटक जोड्नुपर्ने हुनाले, ढाका र दुर्गा नामको अङ्ग्रेजी अक्षर 'डि' हुने भएका कारण सो सन्दर्भलाई ‘डी डबल’ अडियो भनेर बुझौँ। फेरि अडियोमै 'डबल करोड'को पनि त कुरा आएको छ!
गएको चैत २६ गते ‘डी डबल’ अडियोले सामाजिक सञ्जाल तरंगित बनाइसकेपछि रास्वपाले सो टेपबारे छानबिन गर्ने र परिणाम नआउन्जेलसम्म श्रेष्ठले सांसद र रास्वपाको सदस्यको हैसियतले पनि केही नगर्नु भन्ने निर्देशनसहितको विज्ञप्ति निकाल्यो। रास्वपाका कतिपय समर्थकहरूले अडियो काण्ड कसैले नियोजित रूपमा गरेको षड्यन्त्र बताउन थाले पनि विज्ञप्तिले भने डि डबल अडियोमा भएको स्वर श्रेष्ठकै हो भन्ने संकेत गरेको छ।
यस्तो घटना अन्य पार्टीमा हुँदा ती पार्टीप्रति विगतमा प्रश्न उठेका थिए। दुःखको कुरा, कतिपय यस्तै चरित्रका अडियो अन्य पार्टीका नेता र सरोकारवालाबीच हुँदा ती पार्टीले 'डिल'मा संलग्नलाई कारबाही र अनुसन्धानको दायरामा ल्याएनन्। नेकपा एमालेका तर्फबाट उतिखेर सञ्चार मन्त्री भएका गोकुल बास्कोटाको '७० करोडको अडियो' सार्वजनिक हुँदासमेत एमाले पार्टीबाट ठोस् कदम चालिएन, उल्टो उतिखेर एमाले अध्यक्ष ओलीले त्यस घटनाको प्रतिरक्षा गरे।
डी डबल संवाद केसमा भने रास्वपा कसरी अघि बढ्ला भनेर धेरैले नियालिरहेका छन्। पार्टी सभापति रवि लामिछानेले '७२ घण्टाभित्रै यसको छानबिन गरी निष्कर्ष निकाल्ने' बताए, जुन सकारात्मक छ। छानबिन समितिले कसैको दबाब, प्रलोभन र उक्साहटमा नआई काम गर्न पाउँछ वा पाउँदैन भन्नेबारे सबैको चासो छ। लामिछानेले 'चुनावको मुखमा नै यो अडियो किन आयो?' भनेर उठाएका प्रश्न मिडियाहरूमा पढ्नसमेत पाइयो। कुन समयमा आउनुपर्थ्यो भन्ने प्रश्नभन्दा पनि आफ्नो पार्टीभित्र मात्रै होइन, देशमै सुशासन स्थापित गर्छु भनेर अघि आएको पार्टीले यस्ता गम्भीर मामलामा औँला कता फर्काउला भनेर जनता प्रतीक्षारत छन्।
रास्वपालाई अन्य पुराना पार्टीको तुलनामा यस्तो घटनाले धेरै संवेदनशील बनाउनुपर्छ। किनभने, 'पुरानाहरू खत्तम भए' भन्दै राजनीतिक प्रतिस्पर्धामा आएको नयाँ दल हो रास्वपा। अडियोको सत्य तथ्य छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले काम गरिरहेको छ र सम्भवतः बुधवार त्यस काण्डबारे आफ्नो अन्तिम धारणासमेत ल्याउला।
अडियो सार्वजनिक भएपछि रास्वपा सभापति लामिछाने र सो पार्टीका अन्य प्रमुख नेतालाई तनाव थपिने त भयो नै, रास्वपामा माथि भर गर्ने आमसमर्थकहरूमाथि पनि तनाव बढेको देखिन्छ।
आरोपित श्रेष्ठले सो अडियोको आवाज आफ्नो नभएको जिरह गरिरहेका छन्। पार्टीले जारी गरेको विज्ञप्तिसँग पटक्कै नमिल्ने गरी श्रेष्ठको सचिवालयबाट 'सो आवाज आफ्नो नभएको र इडिट गरेर आफ्नो राजनीतिक भविष्य सक्याउन केही समूह हात धोएर लागी परेको' विज्ञप्ति बाहिर आयो।
समय-समयमा अनेकौँ 'स्टन्ट' गरिरहने व्यवसायी दुर्गा प्रसाईंले भने अडियोमा भएको आवाज आफूहरूबीचकै रहेको भन्दै अनेकौँ अन्तर्वार्ता दिन भ्याइसकेका छन्। सामाजिक सञ्जाल र चिया-रक्सी पसलहरूमा सो अडियोको पक्ष र विपक्षमा बाँडिइसकेको छ। एक धार 'जुन जोगी आए पनि, कानै चिरेको' भन्दै छन् भने अर्को धार 'रविलाई फसाउन अनेक गर्छन्, यो सबै झुटो हो' भन्दै अडियो प्रकरणका आरोप असत्य होस् भन्ने कामना गरिरहेका छन्। म भने डी डबल अडियोको सवालमा तेस्रो धारमा छु। अनुसन्धानको नतिजाले जे भन्छ, त्यसपछि थप विश्लेषण गर्दै जाने।
अनुसन्धान नतिजाले डा. श्रेष्ठको स्वर इडिट गरिएर राखेको भन्न पनि सक्छ; त्यसो हुँदा श्रेष्ठ निर्दोष र सबै नाटक दुर्गा प्रसाईंको भन्ने निष्कर्ष निस्किन सक्छ।
रास्वपाको बलेको आगो ताप्ने निहुँमा डा.श्रेष्ठले एक्लै 'डबल करोड' दाउ पार्ने कोशिश गरेको भन्ने पनि हुन सक्छ, वा उनी मात्र नभई अन्य व्यक्तिसमेत उक्त मामलामा संलग्न छन् भनेर पनि निष्कर्ष आउन सक्छ। फेरि 'कोर टिम' को कुरा पनि आएको छ। कोर टिमको मसलाले मामला अझै तन्कने पनि सम्भावना छ।
उपनिर्वाचनका विपक्षीले निर्वाचनको नतिजा बदल्नका लागि यो सबै षड्यन्त्र गरेको भन्ने खालको निष्कर्षसमेत पार्टीबाट आउन सक्छ। निष्कर्ष केही न केही त आउला र रास्वपाले पनि दरिलो 'एक्सन' लेला। तर, यस प्रकरणले हामीलाई केही कुरातर्फ सोच्न बाध्य पारेको छ:
- नेपालमा मन्त्री तथा अन्य सार्वजनिक पदबाट आर्जन हुने सामर्थ्य र शक्तिको बेचबिखन हुने गरेको साँचो हो।
- व्यवसायीहरूले आफ्नो व्यवसाय बलियो पार्न जति पनि पैसा तिरेर मान्छे किन्न सक्छु भन्ने विश्वास पाल्ने गर्छन्।
- जुनसुकै पार्टी र पार्टीको गतिविधि चलाउन पैसा नभई हुन्न र सो पैसा कुन पार्टीले कहाँबाट जोहो गर्ने गरेका छन् भन्नेबारेको पारदर्शिता न पार्टीले देखाउने गरेका छन्, न नागरिकले माग्ने गरेका छन्। यस विषयलाई सार्वजनिक छलफलको विषय बनाइनुपर्छ।
- नेपालमा अब जुनसुकै निर्वाचन जित्न केही न केही 'स्टन्ट' हुनैपर्ने जस्तो देखिएको छ।
- वार्तालापको अडियो/भिडियो सार्वजनिक हुने डरले अबका दिनमा पैसा लेनदेनको सेटिङ प्रत्यक्ष रूपमा भेटेर मात्र हुने सम्भावना छ।
- यसरी सार्वजनिक पदमा रहेका व्यक्तिले 'बार्गेनिङ' गरेको प्रमाणित भए नेपालको कानूनले समेत भ्रष्टाचार गर्न खोजेको भनेर प्रक्रिया चलाउन सक्ने कि नसक्ने?
- पहिले पहिलेका अडियो काण्डका आरोपितहरू आज निर्धक्क राजनीतिमा छन्। डा. श्रेष्ठ पनि कायम रहलान् या नरहलान्?
- करोडको लेनदेन कत्रो कुरा भयो र? हिजो ७० करोडका लेनदेनको अडियो पनि आएकै हो! उनीहरूलाई केही नहुने अनि केही गर्छु भनेर आएको पार्टीलाई चाहिँ 'सामान्य विषयमा खेद्ने?' जस्ता कच्चा तर्क पनि हुन थालेका छन्। समर्थकहरूबाट आएका यस्ता तर्कको पनि रास्वपाले खारेज गर्ला या आफ्नै प्रतिरक्षा गर्ला?
- नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रको दिनानुदिन अवमूल्यन भइरहेको छ। काठमाडौँका महँगा रेस्टुरेन्ट र होटेलहरूमा दैनिकजसो भेटघाटमा 'बार्गेनिङ', 'रेन्ट सिकिङ' तथा नीतिगत हेरफेरका लागि पैसाको लेनदेन, ठेक्कापट्टा पाउन चियापान र दान दक्षिणाको व्यवस्था हुन्छन्। यी सबै गैरकानुनी मात्र होइन, देशको विकास, गरिमा र सुशासनविरुद्धको द्रोह पनि हो। त्यसैले वैकल्पिक राजनीतिको पैरवी गर्न आएको र निकै कम समयमै सफलता हात पारेको रास्वपाले आफ्नै घरभित्रका फोहर र कसिंगर भने सिनित्तै बढार्न पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
