भारतको पिथौरागढमा मजदुरी गर्दैआएका उनीहरू बिसु पर्व मनाउन गाउँ फर्कँदै थिए। झुलाघाटबाट गाउँ पुग्न तीनवटा गाडी परिवर्तन गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाट नै जिप रिजर्भ गरेर मगाएका थिए।
बैतडी– मंगलबार राति जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो।
भारतमा रोजगारी गरेर नववर्ष अर्थात् बिसु पर्व मनाउन घर फर्किँदै गरेका मजदुर झौलेक भिरमा नै अस्ताए। बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका उनीहरूको परिवारका साथ बिसु पर्व मनाउने सपना बाटैमा बिलायो।
दुर्घटनामा बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो। भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
“क्षमताभन्दा बढी यात्रु सवार रहेछन्। उकालोमा जिप चढ्न सकेन। त्यसपछि ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ,” उनले भने। भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मंगलबार झुलाघाट पुगेका थिए।
झुलाघाटबाट गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाट नै जिप रिजर्भ गरेर मगाएका थिए। गाडीमा सवार १२ जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलाएको छ। पाँच जना पछाडि बसेकाले हाम फालेर बाँच्न सफल भएको सोही जिपमा सवार जयसिंह बोहराले बताए। “सडक उकालो थियो। जिप ब्याक भएर भिरबाट खस्यो,” उनले भने, “जिप पछाडि पछाडी फर्किन थाल्यो। पछाडि सवार सबैले हाम फाल्यौँ। त्यसपछि भिरमा खस्यो।”
मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबैजनाले गाउँमा भोट खसालेका थिए। त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो। निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए। “बिसु पर्व मनाउन सल्लाह गरेर घर फर्किँदै थियौँ। एकसाथ नयाँ वर्ष मनाउन पाइएन,” उनले भने।
राति ११ बजे उनीहरूले खोडपे बजारमा खाना खाएका थिए। खाना खाएर अगाडि बढेको केही समयमै झौलेक भिरमा दुर्घटना भयो। “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ। चालकले बागथला पुगेर आराम गरौँला भन्यो,” जयसिंहले भने, “राति यतै आराम गरौँ। नयाँ वर्ष आउन एक दिन बाँकी छ। बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन्।” जिप सडकबाट ५०० मिटर तल खसेको छ। चालक सोही गाउँका अर्जुन बोहरा फरार छन्।
दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ। पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए। सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
