अडियो प्रकरण : रास्वपाको केन्द्रीय समिति बैठक सर्‍यो, दिउँसो २ बजे बस्ने

नेताहरू चुनावी अभियानमा रहेकाले बैठक पाँच घण्टा सारिएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

काठमाडौँ– सांसद ढाकाकुमार श्रेष्ठको अडियोबारे निर्णय गर्न बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सरेको छ।

बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो। नेताहरू चुनावी अभियानमा रहेकाले भेला हुन नसकेपछि बैठक पाँच घण्टा सारिएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

“नेताहरू चुनावी अभियानमा खटिनुभएकाले भर्चुअल गर्ने की भन्ने थियो। तर, भौतिक रूपमा नै बस्नुपर्ने भयो,” बुर्लाकोटीले भने, “त्यसैले बिहान नौ बजे बस्न सम्भव भएन। अब दुई बजे बस्ने तय भएको छ।” श्रेष्ठले व्यावसायीसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो। 

यसअघि रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले यस विषयमा छानबिन गरेको थियो। समितिले अडियोसम्बन्धी प्रतिवेदन मंगलबार नै सभापति रवि लामिछानेलाई बुझाइसकेको छ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरेका छन्।