घरबारविहीनलाई खाना खुवाएको आरोपमा पक्राउ

नोर्माले अनुमति बिना खाना खुवाएपछि पक्राउ गरिएको र उनीमाथि मुद्दा चलाइएको स्थानीय प्रशासनको भनाइ छ।

अमेरिकाको एरिजोना राज्यमा घरबारविहीन मानिसहरूलाई खाना खुवाएको आरोपमा एक महिला पक्राउ परिन्। 

बुलहेड सामुदायिक पार्कमा भ्यानमा बनाइएको तयारी खाना घरबारविहीनहरूलाई बाँडेको भन्दै एरिजोना प्रहरीले गत मार्च महिनामा स्थानीय ७८ वर्षीय नोर्मा थोर्नटनलाई पक्राउ गरेको थियो। 

त्यहाँको सिटी काउन्सिलले परोपकारी उद्देश्यका लागि सार्वजनिक पार्कहरूमा खाना बाँड्ने कार्यलाई अपराध भन्दै चार महिनासम्मको जेल सजाय हुनसक्ने विषय समावेश गरी अध्यादेश नै ल्याएपछि त्यसैअनुसार ती महिला पक्राउ परेकी थिइन्। 

यसरी खाना खुवाउन सिटी काउन्सिलको अनुमति चाहिन्छ। नोर्माले अनुमति बिना त्यसो गरेपछि पक्राउ गरिएको र उनीमाथि मुद्दा चलाइएको स्थानीय प्रशासनको भनाइ छ।

पछि उनका वकिलले आवश्यक परेका मानिसलाई खाना खुवाउनु एक राष्ट्रव्यापी अभियानको हिस्सा हो भन्दै तर्क अघि सारेपछि अन्ततः रिहा भएकी थिइन्। 

रिहा भएपछि ती महिलाले सार्वजनिक स्थानमा भोजन वितरण गर्न नियन्त्रण गर्नेसम्बन्धी स्थानीय अध्यादेश फिर्ताको माग गरेकी थिइन्। त्यस अध्यादेशले दयालाई ‘अपराध’ भनेको उनको भनाइ थियो।

बुलहेडका मेयरले भने यो अध्यादेश सार्वजनिक पार्कहरूमा मात्र लागू हुने बताएका छन्। अन्य स्थानमा चर्च, क्लब र व्यक्तिगतले स्वतन्त्ररूपमा खाना खुवाउन र बाँड्न पाउने र अनुमति नचाहिने मेयरले बताए।