स्वर्णिमलक्षित शेखरको टिप्पणी– अवसरवादीहरूबाट जोगिनुहोस्

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।

शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिईकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले आफू अवसरवादीबाट सावधान भइसकेको र अरू सबैलाई पनि सचेत हुन आग्रह गरे। “सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ। तपाईंहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो,” उनले भने।

डा. वाग्लेले कोइराला, महामन्त्री गगन थापासहितका नेताहरूलाई जानकारी दिएर नेपाल कांग्रेस त्यागेका थिए। लगत्तै उनलाई रास्वपाले तनहुँ–२ बाट उम्मेदवार बनाएको थियो।