ताइवानी राष्ट्रपतिले अमेरिका भ्रमण गरेपछि चीन रुष्ट, सीमामा थाल्यो सैन्य अभ्यास

ताइवान र अमेरिकाको निकटताले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ। 

भेटवार्ताका क्रममा ताइवानी राष्ट्रपति साई इङ वेन र अमेरिकी सभामुख केभिन म्याकर्थी। तस्वीर : एपी

ताइवानी राष्ट्रपति साई इङ वेन र अमेरिकी सभामुख केभिन म्याकर्थीबीचको भेटपछि चीनले प्रतिक्रियामा सैन्य अभ्यास शुरू गरेको छ। चीनले ताइवान–चीन सीमामा सैन्य अभ्यास थालेको हो।

अमेरिका भ्रमणमा नजान दिएको चेतावनी वेवास्ता गर्दै ताइवानी राष्ट्रपति साई अमेरिका पुगेपछि चीन आक्रोशित भएको छ। चीनले ‘कडा प्रतिक्रिया’ दिने जनाउँदै ताइवानी समुद्रमा युद्धपोतहरू पठाएको बीबीसीले जनाएको छ। 

यता, चीनको नेशनल पिपुल्स कंग्रेसको चिनियाँ विदेश मामिला कमिटी, चिनियाँ कम्युनिष्ट पार्टीको ताइवान मामिला कार्यालय, चिनियाँ रक्षा मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै साईको ट्रान्जिट भ्रमणको विरोध गरेका छन्।

साई र केभिनबीच क्यालिफोर्नियामा बुधबार भेट भएको हो। भेटमा साईले ताइवान र अमेरिकाबीच ‘अटुट र भिन्न साझेदारी’ रहेको बताइन्। म्याकर्थीले पनि ताइवानलाई हतियार बेच्ने विषयले निरन्तरता पाउने प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ। एक साताअघि पनि राष्ट्रपति साईलाई न्युयोर्कमा नेतृत्व अवार्डले सम्मानित गरिएको थियो।

मध्य अमेरिकी मुलुकहरू ग्वाटेमाला र बेलिजको भ्रमणमा निस्किएकी साईले अमेरिकासमेत पुग्ने संकेत पाएपछि चीनले परिणाम नराम्रो हुने भन्दै त्यसो नगर्न चेतावनी दिएको थियो। तर, साईले मित्र राष्ट्र अमेरिकाको भ्रमण गरी विभिन्न नेताहरूलाई भेटेकी थिइन्।

अमेरिकामा चीनप्रति गहिरो र बढ्दो शत्रुताका छ। साथै, ताइवानलाई सहयोग गर्ने कुरामा अमेरिकाले हाकाहाकी समर्थन गरिरहेको छ र अमेरिकी पार्टीहरू पनि एकै स्थानमा उभिएका छन्। पृष्ठभूमि हेर्दा साईको अमेरिका भ्रमण संयोग मात्रै नभएको बीबीसीले उल्लेख गरेको छ।

यसअघि अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीका बावजुद ताइवानको भ्रमण गरेकी थिइन्। यस विषयमा ताइवानस्थित अमेरिकी इन्स्टिच्युटका पूर्वनिर्देशक विलिम स्ट्यानटोन भन्छन्, “पेलोसीको भ्रमणप्रति म व्यक्तिगत रूपमा असहमत छु। अमेरिकाले ताइवानमा उच्चस्तरीय राजनीतिक भ्रमण गर्नु चीनलाई जिस्काउनुजस्तै हो। जसको परिणाम निकै डरलाग्दो हुनसक्छ।”

यता, चीनले भने ताइवान र अमेरिकाको निकटताले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको चिनियाँ मिडिया ग्लोबल टाइम्सले लेखेको छ।

अमेरिकाले अति विनाशकारी गतिविधि गरिरहेको र ‘ताइवान कार्ड’ निरन्तर खेलिरहेको चिनियाँ विज्ञले आरोप लगाएका छन्। चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ। तर यो कुरा मान्न अमेरिका तयार छैन। विभिन्न कारणले तनावपूर्ण सम्बन्धमा रहिरहने चीन अमेरिकाबीच ताइवानका कारण थप शत्रुता बढेको छ।