पेरिस ओलम्पिक छनोट : पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ गोलअन्तरमा पराजित

पेरिस ओलम्पिक २०२४ महिला फुटबल एशियाली छनोटको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएपछि दोस्रो चरणमा पुग्न मुस्किल भएको छ। अब शनिबार हुने अर्को खेलमा कम्तीमा ५ गोल अन्तरमा जित्नु पर्नेछ।

काठमाडौँ- पेरिस ओलम्पिक २०२४ महिला फुटबल एशियाली छनोटको पहिलो खेलमा नेपाल पाहुना टोली भियतनामसँग फराकिलो गोलअन्तरमा पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५-१ गोलअन्तरले पराजित गर्‍यो। भियतनामको जितमा कप्तान हुइन न्हूनले २ गोल गरिन्। यस्तै, फाम हाइ येन, एनगुइन थुइ बिच, न्यून थिइ थ्रुच हुङ्गाले १/१ गोल गरे। नेपालकी सावित्रा भण्डारीले १ गोल फर्काएकी थिइन्।

खेलको ९औँ मिनेटमा दीपा शाहीले लामो पासमार्फत् दिएको बललाई डिबक्स भित्र रहेकी फरवार्ड अमिषा कार्कीले 'कनेक्ट' गरेकी थिइन्। तर, अनमार्कमा रहेकी अमिषाले गरेको प्रहार माथिल्लो बारमाथिबाट बाहिरिएको थियो।

११औँ मिनेटमा भियतनामकी फरवार्ड फाम हाइ येनले हेडिङमार्फत् गोल गरेर टिमलाई अग्रता दिलाइन्। थि थुइत दुङ्गले दिएको पासलाई उनले हेड गर्दै गोलमा परिणत गरिन्। 

१७औँ मिनेटमा एनगुइन थुइ बिचले कर्नरबाट दिएको बललाई डिबक्स भित्र रहेकी थाइ थुइले गरेको प्रहार नेपालकी रक्षक एन्जिला थुम्बाप्पे सुब्बाले जम्प गरेर नियन्त्रण लिने कोशिश गरे पनि खुस्काएकी थिइन्। तर, भियतनामकी खेलाडीले पुस गरेपछि रेफ्री सुनिता थोनथाविनले फउल दिएकी थिइन्।

त्यसपछि डोङ्ग थि भानले डिबक्स बाहिबाट दिएको बललाई फामले प्रहार गरेकी थिइन्। तर, उक्त बल बारमा लागेर फर्किएको थियो। पुन: थिइ थुइतले हेडरमार्फत् प्रयास गरे पनि गोलकिपर एन्जिलाले सहजै नियन्त्रणमा लिइन्।

३३औँ मिनेटमा फ्रिकिकमा भियतनामका खेलाडीले क्लियर गर्न नसकेको बललाई अमिषाले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेकी थिइन्। तर, गोलरक्षक खोंग थिङ हाङ्गले बचाइन्। ३६औँ मिनेटमा भने भियतनामले अग्रता दोब्बर बनायो। डिबक्सभित्र हिराकुमरी भुजेलले ह्यान्ड गरेपछि रेफ्री सुनिताले पेनाल्टी दिएकी थिइन्। उक्त पेनाल्टीलाई भियतनामकि कप्तान हुइन न्हूनले गोलमा परिणत गरिन्।

३८औँ मिनेटमा भियतनामकि एनगुइन थुइ बिचले गोल गर्दै अग्रता ३-० मा पुर्याइन्। थिइ थुइतले दिएको बललाई उनले 'कट अप' गर्दै अमृता जैशीको टाङमुनिबाट जाली चुमाइन्।

४७औँ मिनेटमा कप्तान न्यहूनले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौँथो गोल गरिन्। कर्नरबाट आएको पासलाई होङ्ग थिइ लोनको पासमा उनले हेडरबाट बललाई जाली चुमाइन्।

७९औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरिन्। सेन्टर लाइनभन्दा तलबाट दिएको पासलाई रन बनाउँदै सावित्राले भियतनामका डिफेन्डर र गोलरक्षकलाई बिट गरेर गोल गरिन्। त्यसको सात मिनेटपछि दीपा शाहीले प्रहार गरेको कर्नर बललाई सावित्राले हेडिङ गरेकी थिइन्। तर, उक्त बललाई भियतनामी गोलरक्षकले सहजै बचाइन्।

अतिरिक्त समयमा न्यून थिइले अर्को गोल थप्दै भियतनामलाई ५-१ को जित दिलाइन्। अब नेपालले शनिबार पुन: भियतनामसँग खेल्ने छ। नेपाललाई दोस्रो चरणमा पुग्न कम्तिमा ५ गोलको फराकिलो जित आवश्यक रहने छ।