चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत दिँदा सत्ता गठबन्धनमा एकसाथ रहेका आधाभन्दा बढी दलहरू उपनिर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन्।
काठमाडौँ– आगामी वैशाख १० गते तीन निर्वाचन क्षेत्रमा हुन गइरहेको उपनिर्वाचनमा सत्ता समर्थित दलहरू नै प्रतिस्पर्धामा उत्रिएका छन्।
चैत ४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दल १० दलको बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा एकसाथ उभिने निर्णय गरेको थियो। र, चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत दिँदा एकसाथ रहेका दलहरू उपनिर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन्।
चितवन–२, बारा–२ र तनहुँ–१ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ। जसमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), गठबन्धनका अन्य सहयात्री दलहरू जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले आ-आफ्ना उम्मेदवार उठाएका छन्।
रास्वपा सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दिएका छन्। उनी यसअघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनको नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद पद गुमेको थियो। अदालतले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गरेसँग उनको सांसदसँगै पार्टी सभापति, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो।
अदालतको आदेशका कारण लामिछानेको सांसद खारेज गरेपछि हुन लागेको उपनिर्वाचनमा उनीसहित २४ जनाले उम्मेदवारी दिएका छन्। दाहाल सकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले राजेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले जनकराज शर्मालाई प्रतिस्पर्धामा उतारेको छ।
सत्ता गठबन्धनबाट भने नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। उनलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहित पाँच दलले समर्थन गरेका छन्। यहाँ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई प्रतिस्पर्धामा उतारेको छ।
त्यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्त भएपछि रिक्त रहेको तनहुँ–२ मा नौ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। यस क्षेत्रमा रास्वपाबाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई प्रतिस्पर्धामा छन्। वाग्ले तनहुँ–१ मा उम्मेदवारी दिन नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए। कांग्रेस नेता भट्टराईलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको समर्थन छ।
तनहुँ–१ मा राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दिएका छन्। यी दुवै दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए। नेकपा एमालेले भने सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।
बारा–२ मा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति नियुक्त भएपछि उपनिर्वाचन हुन लागेको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा–२ मा रास्वपाले रमेश खरेललाई उतारेको छ। नेपाल सुशासन पार्टीका अध्यक्ष पूर्वडीआइजी खरेल बारा–२ मा रास्वपाबाट निर्वाचन लड्दै छन्। त्यस्तै, जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा, नागरिक उन्मुक्ति पार्टीबाट कमरुल्लाह अन्सारीले उम्मेदवारी दिएका छन्।
सत्तागठबन्धनमा रहेका ठूला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र एकीकृत समाजवादीसहितका दलले साझा उम्मेदवारका रूपमा जसपा नेपालका अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेका हुन्। बारामा नेकपा एमालेबाट पुरुषोत्तम पौडेलको उम्मेदवारी छ।
तीन वटै निर्वाचन क्षेत्रमा एमाले, रास्वपा, नागरिक उन्मुक्तिलगायत दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिँदा सत्ता गठबन्धनका उम्मेदवारलाई पाँच दलको समर्थन रहेको छ। मंगलबार सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउने काममा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
“गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टीपंक्ति एकीकृत रूपमा परिचालित हुन आवश्यक छ,” उनीहरूले भनेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराउन आह्वान गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
