इतिहास भुलेको पुलिसलाई रेलिगेशनको डर!

पुलिस क्लबले पछिल्लोपटक २०६० सालदेखि लिग खेल्ने मौका पाउँदा त्यस दशकभरि सनसनी नै मच्चायो। तर, २०७० को दशकमा कहानी फेरियो। यो सिजन त पुलिस रेलिगेशन जोनबाट माथि उठ्नै सकेको छैन।

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि पाँचपटक जितेको पुलिस क्लबलाई हरेक वर्ष बलियो टोलीका रूपमा लिइन्छ। २०१२ र २०१३ सालको लिग पुलिस फोर्सको नामबाट जितेको थियो। २०३० सालको दशकपछि विभागीय टोलीलाई लिग खेल्नबाट बञ्चित गरियो। एकैपटक २०६० सालमा लिग खेल्न थालेको पुलिसले त्यस दशकमा सनसनी नै मच्चायो।

शुरूकै वर्ष पुलिस लिगमा दोस्रो भयो। २०६३ देखि २०६८ सालसम्म जम्मा तीन सिजन मात्र लिग हुँदा तीनै वटा उपाधि जितेर पुलिसले ह्याट्रिक गरेको थियो। 

तर यो वर्षको जारी शहीद स्मारक लिगको कहानी फरक छ। ६ चरणको खेल सकिँदा पुलिससँग जम्मा १ अंक छ।

यो सिजन पुलिसको शुरूआत नै बिर्सनलायक भएको थियो। लगातार चार खेल जितविहीन भएपछि पाँचौँ खेलमा एनआरटीसँग बराबरी गर्दै एक अंक जोडेको थियो। छैटौँ खेलमा सोमबार एपीएफसँग पराजित भएपछि लिगका १४ क्लबमध्ये अन्तिम स्थानमा कायम रहन पुग्यो।

चौँथो खेलसम्म जितविहीन भएपछि ‘रेलिगेशन जोन’बाट माथि उक्लिन पुलिसले आफ्नो रणनीति परिवर्तन गरेको थियो। पाँचौँ खेलमा उसले अनुभवी खेलाडीद्वय फरवार्ड जुमानु राई र रक्षक सुमन सुवेदीलाई मैदान उतार्‍यो।

जुमानु र सुमन दुवै जना प्रशिक्षक चेतन घिमिरेका कुनै बेला मैदानका सहकर्मी हुन्। सन्यासको संघारमा पुगेका खेलाडीलाई मैदान प्रवेश गराएपछि प्रतिद्वन्द्वी एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले ‘टेक्निकल एरिया’मा पुलिसका अर्का ‘भेट्रान’ फरवार्ड भोलानाथ सिलवालसँग ठट्टा गर्दै भने, “अब म पनि खेलौँ कि क्या हो?” (आफूले गरेको ठट्टा शाक्यले खेलपछि पत्रकारलाई समेत सुनाएका थिए।)

यो वार्तालाप सुनेका चेतन ‘टचलाइन’मा उभिएर हाँसे मात्रै। यद्यपि, उनको रणनीतिले केही हदसम्म काम गर्‍यो। एनआरटीसँग १–१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोड्यो। तर, सोमबार अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसँग १–० गोलअन्तरले पराजित भएपछि अन्तिम स्थानबाट माथि उठ्न सकेन। 

रेलिगेशनको डर पुलिसलाई यस सिजन मात्रै भएको होइन। अघिल्लो सिजन पनि ११औँ स्थानमा रहेर लिग सकेको थियो। रेलिगेशनबाट बच्न कम्तीमा १२औँ स्थान सुरक्षित गर्नुपर्ने हुन्छ।

पुलिसका कप्तान रामचन्द्र ओली युवा टोली लिएर प्रतिस्पर्धा गरिरहेको कारण नतिजा ‘तलमाथि परेको’ बताउँछन्। “नेपाल पुलिस क्लब भन्नेबित्तिकै स्टार खेलाडीले भरिएको टिम हो भन्ने छवि थियो, तर पछिल्लो समय हामीसँग त्यस्ता खेलाडी छैनन्। युवा टोली लिएर फाइट गरिरहेका छौँ। त्यसैले नतिजा तलमाथि भइरहेको छ,” उनी भन्छन्।

गर्विलो इतिहास
फुटबल खेल्नकै लागि २००८ सालमा तत्कालीन युवराज महेन्द्र शाहको नाममा महेन्द्र पुलिस क्लब स्थापना भएको थियो। त्यस यता पुलिस कहिल्यै यति कमजोर अवस्थामा थिएन।

पुलिसलाई २०३० को दशकदेखि लिग खेल्न नदिइए पनि त्यति बेलाको प्रतिष्ठित त्रिभुवन च्यालेन्ज शिल्ड लगातार चार सिजन जितेको थियो। २०५० को दशकमा मोफसलको बुढासुब्बा गोल्डकपको उपाधिमा ह्याट्रिक गरेको थियो। पुलिसले २०५६, २०५७ र २०५८ सालको बुढासुब्बा गोल्डकप जितेको थियो। आहा रारा र महिन्द्र खुकुरी कपलगायत दर्जनभन्दा बढी उपाधिमा पुलिसले कब्जा जमाएको थियो।

२०६० को दशकमा राष्ट्रिय टोलीका अधिकांश खेलाडीले भरिएको पुलिसलाई ‘नेपालको रियल मड्रिड’ भनिन्थ्यो। युरोपको शक्तिशाली मानिएको रियलमा जस्तै पुलिसमा पनि ‘वान टू वान’ पास, बलियो ‘काउन्टर अट्याक’ र ‘टिमवर्क’ भएको त्यसबेलाका खेलाडी सम्झन्छन्। 

पुलिसमा अनन्त थापा, राकेश श्रेष्ठ, जुमानु, रमेश बुढाथोकी, भोला सिलवाल, सुमन सुवेदीलगायत खेलाडीको उपस्थित थियो। प्रशिक्षक विराटकृष्ण श्रेष्ठको बलियो रणनीतिले मैदानमा प्रभाव जमाएको थियो। 

२०६३ सालको ‘ए’ डिभिजन लिग जितेपछि पुलिसले एएफसी प्रेसिडेन्ट कप खेलेको थियो। पाकिस्तानमा भएको उक्त प्रतियोगितामा पुलिस फाइनलमा कीर्गिस्तानको दोरदोई इाडनामो (एफसी दोरदोई बिश्केक)सँग २–१ गोल अन्तरले पराजित भएको थियो। अहिलेसम्म प्रेसिडेन्ट कपको फाइनल पुग्ने एक मात्र नेपाली टोली पुलिस नै हो। 

यो सफलताको मुख्य कारण पुलिससँग भएको आफ्नै मैदान हो। खेलाडी वर्षभरि नै अभ्यास गर्थे। सधैँ फिट भइरहन्थ्ये। यसकारण खेल खस्किन पाउँदैन थियो। पुलिसलाई घरेलु फुटबलमा सदाबहार टोली मानिने सुदूरपश्चिम–११ लगायत विभिन्न क्लबलाई प्रशिक्षण दिइसकेका गजेन्द्र शाही बताउँछन्।

तर, पुलिस उपाधिविहीन भएको चार वर्ष भइसकेको छ। “नेपाल पुलिस क्लब भनेको नेपाली फुटबलमा सदाबहार बलियो क्लब थियो। तर, पछिल्लो समय उसको खेल निकै खस्किएको देखिन्छ,” प्रशिक्षक शाही भन्छन्। 

पुलिसले पछिल्लोपटक २०७५ सालमा खप्तड गोल्डकपको उपाधि जितेको थियो। त्यसयता पुलिसले दुई दर्जभन्दा बढी प्रतियोगितामा भाग लियो। तर, उपाधिनजिक पुग्नै सकेन। यस वर्ष पनि पुलिसले आधा दर्जन प्रतियोगितामा सहभागिता जनाइसकेको छ। केपी ओली कप, बागमती, आहा रारा, तिलोतमा, विराट र खप्तड गोल्डकपमा पुलिस क्वार्टरफाइनलबाट अगाडि बढ्नै सकेन।

पुलिसका पूर्वखेलाडी तथा खप्तड गोल्डकपमा प्रशिक्षण दिएका रविन श्रेष्ठ अधिकांश युवा खेलाडी समेटेकै कारण पछिल्लो पटक उपाधिका लागि संघर्ष गर्नु परेको बताउँछन्। “टिम अहिले ट्रान्जिसन पिरियडमा छ। हामीसँग अधिकांश युवा खेलाडी छन् र उनीहरूले आफूलाई ग्रुम गर्न सकेका छैनन्,” उनले भने, “टिमको फर्मेसन, कमिकमजोरी सेअर गरेर कसरी माथि लान सकिन्छ भन्ने छलफल गर्नेछौँ।”

सकेन खेलाडी टिकाउन
पुलिसले पछिल्लोपटक ‘ए’ डिभिजन लिग जित्दा भरत खवास टोलीमै थिए। करारमा भित्रिएका उनले त्यो सम्झौतालाई लम्ब्याउन चाहेनन्। २०६९ सालको सिजनमा उनी अर्काे विभागीय टोली त्रिभुवन आर्मीतर्फ हानिए। त्यो वर्ष पुलिस छैटौँ स्थानमा खुम्चियो। 

२०७० सालको सिजनमा भने पुलिसले दुई स्थान सुधार गर्दै चौँथो भयो। त्यसलगत्तै मिडफिल्डर अनन्त थापा र गोलरक्षक राकेश श्रेष्ठले सन्यास लिए। 

पुलिसले लय गुमाउन थालेपछि तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल चिन्तित थिए। २०७२ सालमा एनसेलसँग सहकार्य गर्ने क्रममा उनले खेलाडीको मनोबल उच्च बनाउन क्षमताले भ्याएसम्म सहयोग गर्ने बताएका थिए।

“अहिले गुणस्तर खस्किएको हो कि जस्तो लागेको छ। खेलको दाँजोमा खेलाडीलाई सुविधा कम भएको महसुस गरेका छौँ। अब उनीहरूलाई सक्षम बनाउन केन्द्रित हुनेछौँ,” उनले भनेका थिए।

सार्वजनिक क्लबमा बढ्दो पारश्रमिकसँगै पुलिस टोलीप्रति खेलाडीको आकर्षण घट्दो छ। तर, सार्वजनिक कार्यक्रममा दिएको आश्वासन अर्याल र त्यसपछिका प्रहरी नेतृत्वले व्यवहारमा उतारेनन्। फरवार्ड सुमन लामाले अघिल्लो सिजन मात्रै क्लब छाडे। अधिकांश समय बेन्चमा बिताएका उनले १२ खेलमा चार गोल गरेका थिए। 

२०७० सालदेखि नै पुलिसबाट खेल्दै आएका सुमनले त्यसको तीन वर्षपछि टोलीमा स्थान बनाएका थिए। पुलिस छाडेलगत्तै उनलाई मनाङ मर्स्याङ्दी क्लब र एनआरटीलगायत टोलीले मोफसलका प्रतियोगिता खेलाउन ७० देखि ८० हजार दिन तयार भए। तर, उनी नेपालको फुटबल त्यागेर अस्ट्रेलिया उडे।

पुलिसबाट खेलेर अन्य क्लबको भन्दा आधा पनि कमाइ नहुने पुलिस क्लबकै एक खेलाडी बताउँछन्। “हाम्रो तलब भनेको ३०/३५ हजारको हारहारीमा हुन्छ। बाहिर एक सिजन लिग खेल्यो भने कम्तीमा १ लाख कमाइन्छ। अझ मोफसलका प्रतियोगिता र अन्यले गर्दा साथीहरूले राम्रो कमाउँछन्। तर, विभागमा त्यस्तो हुँदैन,” ती खेलाडी भन्छन्। 

गत सिजन सुमनसँगै पुलिसबाट खेलेका मिडफिल्डर तेज तामाङ पनि अस्ट्रेलिय उडेका छन्। उनी पुलिसमा जवान पदमा थिए। तर, उनले राजीनामा दिएर चर्च ब्वाइजसँग मासिक डेढ लाख लिने गरी सात महिनाको लागि सम्झौता गरेका थिए।

“टिमलाई बलियो बनाउनकै लागि भित्र्याइएका तेजलाई राम्रै लगानी गरेका थियौँ। उनीहरू हाम्रो टोलीमा भएको भए या पुलिसमै भएको भए पनि नतिजा राम्रै हुन्थ्यो होला। तर, लिगमा एक खेल पनि नखेली उनीहरू बाहिरिए,” चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई (रूबिन) भन्छन्।

सुमन र तेजसँगै निरकुमार राई, साजन राई, रोशन खड्का र तीर्थ रानामगर पुलिसको स्थायी जागिर छाडेर विदेशिएका छन्। निरकुमार, रोशन र तीर्थ दुबईका क्लबहरूमा फुटबल खेलिरहेका छन् भने कपिल ढकालले खेल्न छाडिसकेका छन्। 

विदेशी खेलाडी भित्र्याउन के छ समस्या?
गत सिजन पहिलो र दोस्रो गोलरक्षक घाइते भएपछि सशस्त्र प्रहरी बलको एपीएफले जापानी गोलरक्षक युया कुरियामालाई भित्र्याएको थियो। उनको आगमनपछि १४ मध्ये तीन खेलमा जित निकालेर आठौँ स्थानमा पुगेको थियो। यस सिजन एपीएफलले युयालाई निरन्तरता दिएको छ। विदेशी खेलाडी अर्मान्ड बिडोम र एडामा डौम्नियालाई पनि भित्र्याएको छ।

एपीएफका पूर्वप्रशिक्षक कुमार थापा बाहिरी क्लबहरूले टोली बलियो बनाउन स्तरीय विदेशी खेलाडी भित्र्याएको र नेपाली खेलाडीको स्तर घटेका कारण आफूहरूलाई स्वदेशी खेलाडी लिएर प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको बताउँछन्। तर, विभागहरू देशको सुरक्षासँग जोडिएका कारण एपीएफ र आर्मी मात्रै होइन, पुलिस पनि विदेशी खेलाडी लिन डराइरहेको उनको आशंका छ। 

“विदेशी खेलाडी भित्र्याएपछि टोलीका खेलाडीसँगै राख्नुपर्‍यो। विभागीय टोलीको मैदानमै तयारी गर्नुपर्‍योे। यसले विभागीय टोलीहरू केही हच्किएका हुन् कि!” उनी भन्छन्।

विभागीय टोली त्रिभुवन आर्मीलाई प्रशिक्षण दिइसकेका राजुकाजी शाक्य पनि बढ्दो विदेशी खेलाडीको कोटा र लिगको प्रतिस्पर्धाका कारण स्वदेशी खेलाडीको खेल फिक्का हुँदै गइरहेको बताउँछन्। तर, झन्झटिलो प्रकृया भएको कारण पुलिस र आर्मीले विदेशी खेलाडी भित्र्याउन चासो नदिएको उनको बुझाइ छ।

“एपीएफ पोहोरको लिगमा आधा सिजन सकिँदा रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो,” शाक्य भन्छन्, “अहिले लिग जित्न राम्रो विदेशी खेलाडी अनुबन्ध गर्ने चलन छ। लिगमा उनीहरूकै प्रदर्शन राम्रो देखिन्छ। यो कुरा विभागीय टोलीले पनि बुझेका छन्, तर भित्र्याउने प्रकृया झन्झटिलो छ।”

विदेशी खेलाडी भित्र्याए साख फर्काउने प्रशिक्षकको विश्वास
पुलिसका पूर्वप्रशिक्षक अनन्तलाई पनि विदेशी खेलाडी अनुबन्ध गर्न पाए टोली उत्कृष्ट हुने बताउँछन्। अघिल्लो सिजन पनि उनले कोटा अनुसार तीन विदेशी खेलाडी भित्र्याउन सके उपाधिको दाबेदार बन्ने बताएका थिए। यो सिजन पनि उही अडानमा छन्।

“विभागीय क्लबले पनि क्लब लाइसेनिङ प्राप्त गरिसकेको छ। हाम्रो टोलीमा कम्तीमा तीन विदेशी खेलाडी भित्र्याउन पाउने हो भने सधैँ उपाधिको दाबेदार बन्न सक्छौँ,” उनी भन्छन्, “क्लबमा युवा खेलाडीको बाहुल्य छ। उनीहरूमा एक्सपोजरको कमी छ। विदेशी खेलाडी पनि भित्रिए पक्कै पनि माथिल्लो स्तरको प्रदर्शन हुन्छ।”

पुलिसको प्रशिक्षण छाडेका अनन्त सिनियर राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनको बहिर्गमन हुनुभन्दा ६ महिनाअघि नै पुलिस क्लबले विदेशी खेलाडी अनुबन्ध गर्ने चर्चा चलेको थियो। 

प्रशिक्षक चेतन घिमिरे।

कठिन अवस्थामा अनन्तले छाडेको जिम्मेवारी सम्हाल्न आइपुगेका चेतन ‘एक्सपोजर’को कमी भएको कारण खेलमा तालमेल नमिलेको बताउँछन्। अनुभव प्राप्त विदेशी खेलाडी पाए उत्कृष्ट खेल देखाउने उनको भनाइ छ। यसका लागि टोलीको व्यवस्थापकसँग तीन पोजिसनमा खेलाडी भित्र्याउन प्रस्ताव राखेको उनले जानकारी दिए। 

“हाम्रो टोली कमजोर नै त होइन। तर, खेलाडीहरूमा अनुभवको कमी छ। यसलाई पूरा गर्न गोलरक्षकबाहेक सबै बाँकी पोजिसनमा विदेशी खेलाडी ल्याउनुपर्छ,” उनी भन्छन्, “डिफेन्डरहरू पनि चोटग्रस्त छन्। बाँकी दुई पोजिसनमा त खेलाडी अपरिहार्य देख्छु।”

नेपाल पुलिसको खेलकुद शाखा प्रमुख डीएसपी रूकेश तण्डुकार फुटबलमा लगानी गर्न चाहे पनि आफूहरूसँग बजेट नभएको बताउँछन्। यसका लागि सरकारले विशेष सहयोग गर्नुपर्ने उनको भनाइ छ। “फुटबलको पछिल्लो अवस्थाबारे तपाईंहरूजस्तै हामी पनि चिन्तित छौँ। तर, मुख्य कुरा त बजेट हो। हामीलाई सरकारले खेलको लागि भनेर सहयोग नै गरेको छैन। त्यसैले कसरी यसलाई अगाडी बढाउने भन्नेबारे छलफलमै छौँ,” उनी भन्छन्। 

यद्यपि, विदेशी खेलाडी राख्नेबारे छलफल गरिरहेको उनको भनाइ छ। तर, छलफलले मूर्तरूप नलिँदा पुलिस जारी लिगमा रेलिगेशनको जोखिममा छ।