रुसी नियन्त्रणमा रहेका अमेरिकी पत्रकारलाई रिहा गर्न विदेशमन्त्री ब्लिनकेनको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग वाल स्ट्रिल जर्नलका पत्रकार गेरस्कोभिचलाई तत्काल रिहा गर्न माग गरेका छन्।

रुसी नियन्त्रणमा रहेका अमेरिकी पत्रिका वाल स्ट्रिल जर्नलका पत्रकार इभान गेरस्कोभिचलाई तत्काल रिहा गर्न अमेरिकी सरकारले आग्रह गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभसँग टेलिफोन कुराकानी गर्दै पत्रकार गेरस्कोभिचलाई तत्काल रिहा गर्न माग गरेका हुन्।

अमेरिकी प्रस्तावमा आइतबार ब्लिनकेन र लाभरोभबीच पत्रकार गेरस्कोभिचको रिहाइका विषयमा कुराकानी भएको रुसी विदेश मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी नागरिक एवं पत्रकारको पक्राउ अस्वीकार्य भएको र आफ्नो गम्भीर चासो रहेको भन्दै ब्लिनकेनले तत्काल रिहाइको माग गरेको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। साथै, ब्लिनकेनले जासुसीकै कसुरमा रुसमा पाँच वर्षदेखि जेल सजाय काटिरहेका अमेरिकी पूर्वसैनिक पउल विलनलाई पनि रिहा गर्न आग्रह गरेका थिए।

प्रतिक्रियामा सेर्गेइले पत्रकार गेरस्कोभिच पक्राउको विषयलाई राजनीतीकरण नगर्न र धेरै हंगामा मच्चाउने प्रयास नगर्न अमेरिकी विदेशमन्त्रीलाई जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी र रुसी दुई समकक्षीबीच विरलै कुराकानी हुने गर्छ।

जासुसीको आरोपमा ३१ वर्षे पत्रकार गेरस्कोभिचलाई गत शुक्रबार रुसको संघीय प्रहरीले पक्राउ गरेको थियो। वाल स्ट्रिट जर्नलका चर्चित मस्को संवाददाता गेरस्कोभिच बुधबारदेखि पत्रिकाको सम्पर्कमा आएका थिएनन्। दुई दिनपछि उनलाई रुसी संघीय सुरक्षा सेवा (एफएसबी)ले पक्राउ गरेको खबर बाहिरिएको थियो।

अवैध गतिविधिमा संलग्न रहेको र अमेरिकी इशारामा गोप्य सूचना संकलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको एफएसबीले जनाएको छ। उनलाई अदालतले आगामी मे २९ सम्म हिरासतमा राख्न आदेश दिएको बीबीसीले जनाएको छ। रुसमा जासुसीको आरोप प्रमाणित भए २० वर्षसम्मको जेल सजायको व्यवस्था छ।

पत्रकार गेरस्कोभिचलाई पक्राउ गर्ने रुसी कदमको विश्वभरका पत्रकारहरूले आलोचना गरेका छन्। पत्रकार गेरस्कोभिच बचाउ कमिटीले अमेरिकाका लागि रुसी राजदूत एनातोली एन्टेनोभलाई पठाइएको पत्रमा उनको पक्राउ 'अनुचित र अन्यायपूर्ण' रहेको भनिएको छ। यस्तै, रुसी सरकार प्रेस स्वतन्त्रताविरुद्धमा रहेको समेत आरोप लगाइएको छ।