रास्वपाका उपनिर्वाचन उम्मेदवार : तनहुँमा स्वर्णिम वाग्ले, बाराबाट रमेश खरेल

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा उम्मेदवार बन्न तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेसहित तीन जनाले दाबी गरेका छन्। बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० मा हुने उपनिर्वाचनका लागि दाबी पेस गरेका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेसहित तीन जनाले दाबी गरेका छन्।

त्यहाँ उम्मेदवार बन्न ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको दाबी छ। वाग्ले बिहीबार मात्रै कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए।

त्यस्तै बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। खरेल नेपाल प्रहरीका पूर्व डीआईजी हुन्।

यता चितवन–२ मा भने पार्टी सभापति रवि लामिछानेको मात्रै दाबी परेको छ। यसअघि गएको मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रमा लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए। नागरिकता पुन: प्राप्तिमा प्रक्रिया नपुर्‍याएको सर्वोच्चको ठहरपछि उनले सांसद पद गुमाएका थिए।

रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका लागि पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ। एकभन्दा बढी आकांक्षी देखिएमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ।