अमेरिकाको विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

अमेरिकाको टेनेसी राज्यस्थित नासभिल शहरको एक विद्यालयमा २८ वर्षीया महिलाले बालबालिकालाई निशाना बनाएर अन्धाधुन्ध गोली चलाएकी थिइन्। त्यसपछि सुरक्षाकर्मीको उनी पनि मारिएको प्रहरीले जनाएको छ। 

तस्वीर : रोयटर्स

अमेरिकाको टेनेसी राज्यस्थित नासभिल शहरको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये तीन जना नौ वर्षमुनिका बालबालिका रहेको रहेको बीबीसीले जनाएको छ। उनीहरू स्थानीय कभेन्ट स्कुलका विद्यार्थी थिए।

कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा २०० जना विद्यार्थी अध्ययनरत थिए। सोमबार बिहान २८ वर्षीया महिलाले बालबालिकालाई निशाना बनाएर अन्धाधुन्ध गोली चलाएकी थिइन्।

त्यसपछि उनी पनि प्रहरीको कारबाहीमा मारिएको प्रहरीले जनाएको छ। राइफल, हाते बन्दुक र पेस्तोलसहित एउटा भवनमा प्रवेश गरेकी उनले ढोकाबाट गोली चलाएको बीबीसीले उल्लेख गरेको छ।

उनी उक्त विद्यालयको पूर्वविद्यार्थी भएको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै शुक्रबार साँझसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन्।

बन्दुकको फैलावट बढेसँगै अमेरिकाका विद्यालयमा गोली चल्ने क्रम पनि डरलाग्दो रूपमा बढिरहेको बीबीसीले जनाएको छ।