जर्मनीमा तयार भयो पाउडर बियर

जर्मनीको म्युनिखस्थित मोनास्ट्री ब्रुअरीले पानीमा घोलेर बियर बनाएर खान सकिने पाउडर तयार गरेको छ।

हामीले पाउडर दुधबारे त सुनेकै छौँ, खाएका पनि छौँ होला। तर, पाउडर बियरबारे सुन्नुभएको छ? पाउडरबाट बियर बनाएर खाना चाहनुहुन्छ भने पनि सम्भव हुने भएको छ।

जर्मनीको म्युनिखस्थित मोनास्ट्री ब्रुअरीले पानीमा घोलेर बियर बनाएर खान सकिने पाउडर तयार गरेको छ। पाउडर पानीमा घोलेर बियर बनाउन सकिन्छ। साथै, यसमा अल्कोहलको मात्रा समेत नभएको बताइएको छ।

ब्रुअरीका प्रमुख व्यवस्थापक स्टेफन फ्रित्शेले यस्तो प्रकारको बियर पहिलोपटक बनाइएको दाबी गर्छन्। निर्यातबाट हुने कार्बन उत्सर्जन कम गर्नका पनि यस्तो बियर बनाइएको उनले बताए।

किनकि, बियरका बोतल निर्यात गर्दा लाग्ने खर्चको केबल १० प्रतिशत मात्रै पाउडर निर्यातमा लाग्ने भएकाले यसले करिब पाँच प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्न सकिने उनको दाबी छ। 

यो पाउडर बियर बजारमा आइसकेको भने छैन। यस वर्षको अन्त्यसम्ममा बजारमा उपलब्ध हुने भनिएको छ। बजारमा ल्याउने भनिएका बियर भने अल्कोहलको मात्रासहितको हुने न्यु एटलसले जनाएको छ।

यसरी उपलब्ध हुने बियरलाई बारमा पनि गिलास र बोतलमा घोलेर बेच्न सकिन्छ। भविष्यमा एसिया र अफ्रिकालाई पनि पाउडर बियरको बजार बनाइने कम्पनीको भनाइ छ।