यू–१७ महिला च्याम्पियनसिप : नेपाल रसियासँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित भएको छ।

काठमाडौँ– बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल रसियासँग पराजित भएको छ। बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाल रसियासँग ३–० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा रसियासँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो। रसियाको जितमा एलिना गोलिकले २ र पोलिना फिलसिनाले १ गोल गरिन्। खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई शुरूआती अग्रता दिलाएका थिए। खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २–० को अग्रता दिलाइन्।

त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३–० को जित दिलाइन्। यस जितसँगै तीन खेलमा ९ अंक जोड्दै रसिया शीर्ष स्थानमा उक्लिएको छ। यता, दोस्रो हार बेहोरेको नेपाल तीन खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ। नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ।