निर्देशिका पालना गर्दैनन् स्कुल बस चालक, यान्त्रिक अवस्था पनि कमजोर

ट्राफिक प्रहरीले आइतबार गरेको विशेष जाँच अभियानका क्रममा मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।

काठमाडौँ– बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा सञ्चालित स्कुल बसहरू मापदण्ड विपरीत चल्ने गरेको पाइएकाले यस्ता गाडीहरूबाट बालबालिका जोखिममा पर्ने हुँदा जाँच अभियानलाई तीव्रता दिएको जनाएको छ।

सोही अभियानअन्तर्गत ट्राफिक प्रहरीले आइतबार गरेको विशेष जाँच अभियानका क्रममा यसरी मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा भएको जाँचका क्रममा स्कुल बस निर्देशिका, २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने उनीहरू कारबाहीमा परेका कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार यसरी आइतबार भएको जाँच अभियानमा स्कुल बससहित २८२ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन्। उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित जाँच अभियान चलाएको भट्टले जानकारी दिए।

यस्तै, यान्त्रिक अवस्था ठीक नभएका गाडीहरू पनि उपत्यकामा निर्बाध रूपमा चलिरहेको छ। त्यसरी सञ्चालन भएका सवारी साधनका ४७ जना चालकलाई कारबाही गरिएको पनि उनले जानकारी दिए। त्यस्ता सवारीमा ह्यान्डब्रेक ठीक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका पाइएका छन्।

उनीहरूलाई सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ। अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रहरीले अनुरोध गरेको छ।