बालबालिका र युवामा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

स्काउटले नयाँ पुस्तालाई व्यवसायिक तथा नैतिक शिक्षा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने समाभुख घिमिरेले बताएका छन्।   

काठमाडौँ– सभामुख देवराज घिमिरेले बालबालिका तथा युवामा व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन्।

छैटौँ एसिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पीस कार्यक्रममा सभामुख घिमिरेले संसारभर नयाँ पुस्तालाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो औँल्याए।

उक्त खाँचो स्काउटले पूर्ति गर्नसक्ने सभामुख घिमिरेको भनाइ छ। स्काउट क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा उनको जोड छ।

“नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी छ। यसका लागि सबैभन्दा राम्रो माध्यम स्काउट अभियान बन्न सक्छ,” सभामुख घिमिरेले भने, “स्काउटले बालबालिकाको सर्वपक्षीय विकासको लागि विविध कार्यक्रम सञ्चालन गरेको मैले बुझेको छु।” 

बालबालिका तथा युवालाई अनुशासित, स्वावलम्बी, चरित्रवान तुल्याइ देश विकासमा सहभागी गराउन नेपालमा १९५३ सालमा स्काउटको स्थापना भएको हो।