थ्री नेसन्स कप : लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको हो।

काठमाडौँ- नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो हाफमा लाओसविरुद्ध अग्रता लिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको हो।

नेपालका लागि डिफेन्डर अनन्त तामाङले गोल गरे। खेलको शुरूआतदेखि नै आक्रामक खेल खेलेको नेपालले ५औँ मिनेटमा आयुष घलानले बायाँ साइडबाट दिएको एअर बललाई पोस्ट अगाडि रहेका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवासले हेडर गर्न भेटेनन्।

१८औँ मिनेटमा आयुषबाट लाओसका डिफेन्डरले खोसेको बल मिडफिल्डर एरिक विष्टको खुट्टामा पुगेको थियो। उनले नजिकै रहेका पूजन उपरकोटीलाई बल पास दिएका थिए। तर, डिबक्स बाहिरबाट गरेको प्रहार आकासिएको थियो।

३०औँ मिनेटमा डिफेन्डर अनन्त तामाङले नेपाललाई अग्रता दिलाए। नवीन लामाले प्रहार गरेको कर्नर बललाई अनन्तले रन लिँदै कट हेडरमार्फत् गोल गरे। विभागीय टोलीबाट खेलिरहेका नवीनको यो डेब्यू खेल हो।