श्रीलंकाको टेस्ट कप्तानी छाड्दै करूणारत्ने

श्रीलंका कठिन चरणबाट गुज्रिरहेको अवस्थामा करूणरत्नले टोलीलाई स्थायित्व दिएका थिए। उनको सबैभन्दा ठूलो उपलब्धि सन् २०१९ मा दक्षिण अफ्रिकालाई उसैको घरेलु मैदानमा पराजित गर्नु थियो। 

श्रीलंकन क्रिकेट टोलीका ओपनर दिमुथ करूणारत्नेले अर्को महिना आयरल्यान्डविरुद्धको टेस्ट सिरिजपछि कप्तानबाट राजीनामा दिने बताएका छन्।

यसका लागि उनी श्रीलंकन राष्ट्रिय क्रिकेट टोलीको छनोटकर्तासँग छलफलमा छन्। उनलाई १३ फेब्रुअरी २०१९ मा दिनेश चण्डिमलको स्थानमा कप्तान नियुक्त गरिएको थियो।

चार वर्षदेखि टोलीको कप्तानी गरिरहेका उनले आईसीसी विश्व टेस्ट च्याम्पियनसिप चक्रको अन्त्यसँगै राजीनामा दिन चाहेका हुन्। करूणारत्ने अप्रिलबाट ३५ वर्ष प्रवेश गर्दै छन्।

बढ्दो उमेरसँगै अर्को सिजन युवा खेलाडीलाई कप्तानी जिम्मेवारी सुम्पने इच्छा रहेको बताएका छन्।

“अर्को सिजनको विश्व टेस्ट च्याम्पियनसिप सकिन दुई वर्ष लाग्छ। म टोलीमा दुई वर्ष समय दिन सक्दिनँ। त्यसैले नयाँ कप्तान छनोट गर्ने यही समय हो जस्तो लाग्छ,” उनले भने, “आयरल्यान्डसँगको सिरिजपछि कप्तानी छाड्नेबारे छनोटकर्तासँग कुरा गरेको छु। मेरो प्राथमिकता अर्को सिरिजपछि नयाँलाई कप्तानी सुम्पने हो।”

श्रीलंका कठिन चरणबाट गुज्रिरहेको अवस्थामा करूणरत्नले टोलीलाई स्थायित्व दिएका थिए। उनको सबैभन्दा ठूलो उपलब्धि सन् २०१९ मा दक्षिण अफ्रिकालाई उसैको घरेलु मैदानमा पराजित गर्नु थियो।

कप्तानका रूपमा उनको त्यो पहिलो सिरिज थियो। इंग्ल्यान्ड र अस्ट्रेलियाबाहेक कुनै पनि टोलीले दक्षिण अफ्रिकालाई उसकै घरेलु मैदानमा हराउन सकेका थिएनन्। श्रीलंकाले समग्रमा उनको कप्तानीमा १० जित, १० हार र ६ बराबरी खेलेको छ।

उनीभन्दा अर्जुन रानातुंगा, महेला जयवर्धने र एन्जेलो म्याथ्युजले मात्र धेरै टेस्ट जितेका छन्। सबैले ३४ भन्दा बढी टेस्टमा श्रीलंकाको कप्तानी गरेका छन्।

श्रीलंकाले अर्को सिजन घरेलु मैदानमा दुई टेस्ट सिरिज मात्रै खेल्ने छ। त्यसैले उनी कप्तानी छाडेर ब्याटिङमा ध्यान दिन विदेश भ्रमणमा जान चाहन्छन्।

करूणरत्नेले भर्खरै न्यूजिल्यान्डविरुद्धको सिरिजका चार इनिङ्समा तीन अर्धशतक बनाएका थिए। श्रीलंकाले यस वर्ष विश्व टेस्ट च्याम्पियनसिपका चारसहित ६ वटा टेस्ट खेल्न बाँकी छ।

“घरेलु क्रिकेटमा फर्केर आफूलाई सुधार गर्न चाहन्छु। आठ महिनापछि मैले यहाँ केही रन बनाएँ, तर योभन्दा धेरै रन बनाउन सकिन्थ्यो। मैले त्यो अवसर गुमाए,” उनले भने।