विदेशबाट आउने स्यानिटरी प्याडको मूल्य वर्षमै २ देखि ३ पटकसम्म बढ्ने गरेको छ। स्वदेशमै उत्पादन हुने भए पनि आयातित प्याड नै रुचाइने हुँदा यहाँको उत्पादनले बजार पाउन मुस्किल परेको बिक्रेताहरू बताउँछन्।
काठमाडौँ– प्रमिला श्रेष्ठ (२०) फागुन पहिलो साता स्यानिटरी प्याड किन्न मूलपानीस्थित बाबाचोक नजिकैको फार्मेसीमा गइन्। एक प्याकेट प्याडको पसलेले ८० रूपैयाँ माग्यो। दुई महिनाअघि ७० रूपैयाँमा किनेको प्याडको मूल्य १० रूपैयाँ बढी मागेपछि उनी अर्काे पसल गइन्। तर अर्कोमा त्यही प्याडको ८५ रूपैयाँ माग्यो।
“पसलअनुसार मूल्य फरकफरक छ,” उनले भनिन्, “नभई नहुने चिज नकिनी बस्न पनि सकिँदैन, त्यसैले मैले ६५ रूपैयाँ पर्ने नेपाली प्याड किनेर प्रयोग गर्न थालेँ।”
प्रमिला त्रिचन्द्र कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत् छिन्। उनी दोलखाबाट पढ्नकै लागि काठमाडौँ आएकी हुन्। बीएस्सी पढ्दै गरेकी उनलाई आमाबाबुले पठाएको खर्चले कोठा भाडादेखि अन्य काम गर्नुपर्छ।
महिनावारी हुँदा हरेकपटक दुईदेखि तीन प्याकेट प्याड खरिद गर्नुपर्ने भएकाले खर्च धान्न नै मुस्किल हुने प्रमिला बताउँछिन्। “जागिर नभएकोले पैसा खर्च गर्दा सोच्नुपर्छ,” उनी भन्छिन्, “प्याडको मूल्य बढ्दा हामीजस्ता विद्यार्थीलाई गाह्रो हुन्छ।”
बालुवाटारकी ममता बस्नेत (३५) प्याड किन्न नजिकैको फर्मेसी गएकी थिइन्। उनले ६० रूपैयाँमा किन्दै आएको प्याडको मूल्य ७५ रूपैयाँ पुगेको थाहा पाइन्।
ममता गृहणी हुन्। उनका श्रीमान् जागिरे छन्। त्यही सिलसिलामा रामेछापबाट परिवारसहित काठमाडौँ बस्न थालेका हुन्। श्रीमानको कमाइबाट घरव्यहार चलाएर अन्य खर्च पनि पुर्याउनुपर्ने उनी बताउँछिन्। थोरैथोरै पैसा जोगाएर आफ्नो र छोरीका लागि प्याड किन्ने गरेको उनको भनाइ छ।
“हाम्रो समाजमा प्याड किन्नको लागि घर परिवारसँग पैसा माग्ने वा बुझेर दिने अवस्था अझै छैन,” उनी भन्छिन्, “घरखर्चबाट बचेको पैसाले किन्नुपर्छ। प्याडको मूल्य बढ्नु हामी गृहिणीहरूका लागि ठूलो चिन्ताको विषय हो।”
जनकपुरकी सुनिता यादवले बालुवाटारमा फार्मेसी खोलेकी छन्। उनको फार्मेसीमा प्याड किन्नको लागि दैनिक ५–६ जना आउँछन्। प्याडको मूल्य बढेसँगै ग्राहकहरूले गुनासो गर्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, “वर्षमा २–३ पटकसम्म प्याडको मूल्य बढिरहेको हुन्छ। मूल्य बढ्दा व्यापार घट्छ। लामो समय स्टक राख्नुपर्छ।”
यादव विदेशी कम्पनीका प्याड मात्र बिक्री गर्छिन्। नेपाली प्याड विदेशीभन्दा सस्तो भए पनि गुणस्तर कम भएकाले ग्राहकले नरुचाउने उनी बताउँछिन्। “नेपाली प्याड राखेर पनि के गर्ने! किन्न आउनेले लिँदैनन्। २–३ महिनासम्म पनि बिक्री नभएपछि कम्पनीमै फिर्ता पठाउनुपर्छ। त्यसैले नेपाली प्याड राख्दैनौँ।”
सिन्धुपाल्चोककी तारा पाण्डेले धापासीमा निमु फर्मा नामको फार्मेसी खोलेकी छन्। उनको फार्मेसीमा नेपाली र विदेशी दुवै कम्पनीका प्याड पाइन्छ। त्यहाँ प्याड किन्न आउनेको संख्या दैनिक १२ जनाभन्दा बढी हुन्छन्। उनका अनुसार नेपाली प्याडको मूल्य हत्तपत्त बढ्दैन। तर विदेशी प्याडको मूल्य वर्षमा २–३ पटकसम्म बढ्छ।
“अहिले विदेशी प्याडको मूल्य बढेको छ। भन्सार बढेकोले पनि मूल्य बढेको भन्छन्, ठ्याक्कै थाहा छैन,” उनी भन्छिन्, “हामीले किन्दा बढी मूल्य तिरेपछि बिक्री मूल्य पनि बढाउनै पर्छ। ग्राहकले आफ्नो आर्थिक अवस्था हेरेर त्यहीअनुसारका प्याड लान्छन््। विदेशी प्याडको तुलनामा नेपाली प्याडको मूल्य धेरै बढ्दैन।”
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट प्रस्तुत गर्दै स्यानिटरी प्याडमा लाग्दै आएको भन्सार महसुल ९० प्रतिशतले छुट दिने घोषणा गरेका थिए। त्यस्तै, नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चा पदार्थको आयातमा पनि १ प्रतिशत मात्रै भन्सार लाग्ने घोषणा गरेका थिए। तर सामाजिक अभियन्ताहरूले भने स्यानिटरी प्याडलाई विलासी वस्तुमा राखिएको र भन्सार पूर्णरूपमा छुट नदिइएको तथा अतिरिक्त कर नहटाइएको भन्दै असन्तुष्टि पोखेका थिए।
सामाजिक अभियन्ता सावित्री भण्डारी प्याड महिलाहरूको लागि विलासीको सामान नभइ अत्यावश्यक चिज भएको बताउँछिन्। राज्यले नै प्याड निःशुल्क दिनुपर्ने उनको भनाइ छ।
“केही सरकारी संस्था र विद्यालयमा स्यानिटरी प्याड निःशुल्क वितरण हुने गरेको छ,” उनी भन्छिन्, “नेपालका अधिकांश महिलाहरू अझै पनि आर्थिक रुपमा पछाडि छन्। अहिले घरबाहिर काम गर्न जाने महिलाको लागि प्याड अत्यावश्यक बनिसकेको छ। महिनापिच्छे प्रयोग गर्नुपर्ने प्याडको मूल्य बढ्दा समस्या भएको छ।”
विदेशी कम्पनीको विज्ञापनले महिलाहरू आकर्षित हुँदा पनि विदेशी प्याड नै बढी बिक्री हुने भण्डारी बताउँछिन्। त्यही कारण नेपालमै उत्पादन हुने जैविकका साथै पुनः प्रयोग गर्न मिल्ने, कुहिने र वातावरण मैत्री प्याडको बजार साँघुरिएको उनको भनाइ छ।
“नेपालमा उत्पादन भएका स्यानिटरी प्याड नराम्रो भन्ने होइन, तर नेपालमा बनेका प्याडहरूको प्रचारप्रसार हुन सकेको छैन,” उनी भन्छिन्, “नेपालमा उत्पादन नै कम छ, नेपालमा बनेका स्यानिटरी प्याडले बाहिरी देशहरूसँग प्रतिस्पर्धा गर्न नसक्दा कम्पनीहरू बन्द हुुने अवस्था छ।”
नेपाली प्याड उत्पादक कम्पनी हेल्थ हाइजिङ प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राकेश लाहुटीका अनुसार बजारमा सामानको मूल्य बढेसँगै प्याडको मूल्य पनि बढेको छ। तर बाहिरबाट आएका प्याडभन्दा नेपाली उत्पादन सस्तो पर्ने उनको भनाइ छ।
नेपालका कम्पनीले उत्पादन गरेका प्याडले यहाँको बजार धान्ने लाहुटी बताउँछन्। तर सरकार र ग्राहक दुवैले नेपाली उत्पादनलाई नपत्याउँदा बर्सेनी विदेशबाट ठूलो मात्रामा प्याड आयात भइरहेको उनको भनाइ छ।
“नेपालमा प्याड उत्पादन गर्ने साना कम्पनीहरू मात्र ३५–४० वटा खुलेका छन्। सरकारले आयात मूल्य घटायो, तर प्याडको मूल्य बढेर आएको छ। यसले नेपाली जनतालाई के फाइदा भयो?” उनी भन्छन्, “हाम्रो कम्पनीलाई सरकारले कुनै सहयोग गर्दैन। लगातार मेसिनहरू चलाउन सकिँदैन। त्यसकारण नेपाली कम्पनीहरू समस्यामा परेर विदेशी कम्पनीले नेपालको पुँजी लैजाने गरेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
