दलित युवाले उच्च जातको युवती बिहे गर्दा स्वतः बलात्कार कायम गर्न खोज्ने, तर्साउने या बाल विवाहको आरोपमा मुद्दा लगाएर थुनाउने र कुनै पनि हालतमा बिहे खारेज गराउने चलन छ।
केही दिनयता कुनै पनि काममा फिटिक्कै जाँगर छैन, एकदम शून्य छु। सामाजिक सञ्जालहरू चाहार्दा झनै अवाक् लाग्छ। सामाजिक सञ्जालका क्रिया-प्रतिक्रिया, बजार-चोकका खुद्रा र तरकारी पसलहरूमा हुने गरेका टिप्पणीहरूबाट एउटा निचोड निकाल्छु, 'समाज बलात्कारीको अखाडा बन्दैछ। राज्य बलात्कारीको संरक्षण गर्ने मतियार बन्दै छ।' केही हप्ता पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा राज्यका उच्च अधिकारीहरूले नाबालिग बलात्कारको अभियुक्तलाई खादा-माला पहिर्याउँदै कसिलो हात मिलाएबाट न्यायको 'बलात्कार' गर्न राज्यले 'गुप्तवस्त्र' उतारेको प्रस्टिएको थियो। न्यायिक अड्डाहरूले पनि बेलाबेला आफ्ना वस्त्र उतार्ने गरेकै छन्।
सामाजिक सञ्जालहरूमध्ये सर्वसाधारणबीच लोकप्रिय टिकटक चलाउँछु। बलात्कारबाट पीडित बालिकाहरू आफ्ना दुःख भुल्न टिकटकमा कहिले भिडियो हाल्छन् त कहिले आफूविरुद्ध भएको 'ब्याकलास'को 'सफाइ' दिन लाइभमा बस्छन्। यसो गरेर उनीहरू सम्भवतः आफूमाथि सञ्जालले दिएको दण्ड र यातनाको पीडा भुल्न खोज्छन्, आफू खुशी छु भन्ने देखाउन खोज्छन्।
तर त्यहाँसमेत 'बलात्कारी समाज' आँखा च्यातेर किशोरीहरूको पिछा गरिरहेको हुन्छ। तिनको भरमार निन्दा र गाली गरिरहेको हुन्छ। घाँटी निमोठ्न खोजिरहेको हुन्छ। 'तँ बाँचेको सार छैन, अझै लाज छैन? फलानोलाई फसाएर धनी बन्ने सपना देखेकी!' आदि भन्दै त्यहाँ बालिकाहरूको हुर्मत लिइन्छ। किशोरीहरूलाई गाली गर्नेहरू तिनै हुन्, जो बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय देऊ भन्दै सामाजिक सञ्जालमा लेख्छन् र बलात्कार आरोपीहरू धरौटीमा छुट्दा ठूलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेझैँ अभियुक्तलाई स्वागत गर्न माला बोकेर जेलकै ढोका पुग्छन्।
म त्यस्तो समाजमा बस्छु, जहाँ पीडितमाथि चोर औँला उठाइन्छ, बलात्कार गर्न पाउनु भाले जातिको नैसर्गिक अधिकार हो झैँ व्याख्या गरिन्छ। महिलाले महिलाजन्य अंग देखिने र बुझिने गरी लुगा लगाउनु नै बलात्कारको कारण हो भन्ने ठहर गर्छन्। पीडितलाई पीडामाथि थप पीडा थपेर चरम निराश र हतोत्साहित पार्छन्। 'बाँच्नुभन्दा मर्नु ठीक'तर्फ प्रेरित गराउँछन्। कतिपयका कुतर्क सुन्दा लाग्छ, बलात्कारबाट पीडितहरूले न्याय पाउनका लागि पीडित स्वयं मर्नुपर्छ र या मारिनुपर्छ।
हाई प्रोफाइल बलात्कारीहरू धरौटीमा छुटेर 'गन्यमान्य'हरूको आशिर्वाद थापिरहँदा एकथरी मान्छे किशोरीको उमेर र तिनको यौन चाहनासँग जोडेर प्रश्न उठाएका छन्। हुर्कँदो किशोरीमा यौन चाहना हुँदैन भन्न सकिन्न। खास उमेरमा पूर्ण स्वस्थ मानिसमा यौनजन्य चाहना नहुनु बरू अस्वाभाविक हो। दोब्बर उमेरको वयस्क पुरुषले किशोरीको भावनासँग खेलेर यौन तुष्टि पूरा गर्नेतर्फ लाग्नु 'कमजोरीको फाइदा' उठाउनु हो। एउटी किशोरी आफूभन्दा उमेरमा धेरै परिपक्व पुरुषलाई विश्वास गर्न सक्छे। तर पुरुषबाट भएको धोका झेल्न उ मानसिक रूपमा सक्षम हुन्न। शारीरिक सम्बन्धबारे कानूनले तोकेको उमेरमा बहस हुनसक्ला, तर मानसिक रूपमा समेत सचेत र परिपक्व नभइसकेकी किशोरीको मनोविज्ञानसँग यौन तुष्टिको हिसाबले खेल्नु कानूनले नतोके पनि गलत काम हो। अपराध हो।
बलात्कारकै सन्दर्भ जोडिएको एउटा भिडियो अन्तर्वार्ता केही हप्तायता सामाजिक सञ्जालमा 'सर्कुलेट' भएको छ। अन्तर्वार्ताअनुसार स्याङ्जा जिल्लाका विपीन सुनार दुई वर्षदेखि बलात्कारको आरोपमा जेल जीवन बिताइरहेका छन्। उनलाई आफ्नै श्रीमती बलात्कार गरेको आरोप छ। अचम्मको कुरा के छ भने बलात्कृत भनिएकी विपीनकी श्रीमती कविता क्षेत्रीका अनुसार केही समयको प्रेम सम्बन्धपछि २०७६ असोज ९ गते उनीहरूले राजीखुसशी भागी विवाह गरेका हुन्।
तर, कविताको परिवार कथित उच्च जातको भएका कारण विपीनसँगको सम्बन्ध कविताको परिवारले बिहे तोडाउन चाह्यो। उमेर नपुगेको कारण देखाई उनीहरूलाई छुट्टाइयो र कविताको परिवारले विपीनविरुद्ध बलात्कारको मुद्दा हाल्न कवितालाई उक्साइयो। अनेक नाटक र हर्कत गरेर कवितालाई अत्त्याइयो र जबरजस्ती कविताको हस्ताक्षर गराएर विपीनविरुद्ध बलात्कारको मुद्दा दर्ता गरियो।
आफ्ना बाउआमाको 'नाटक'बाट विचलित भएकी उनले पहिले बलात्कार रिटको विवरण नपढी हस्ताक्षर गरिन्, तर मुद्दा दर्ता गरेपछि कवितालाई झन् विपीनको माया लाग्न थाल्यो। बिना गल्ती आरोप लगाउने कुरा उनलाई सही लागेन र दोस्रोपल्ट उनीहरू सँगै हुने निर्णय गरेर स्याङ्जाबाट भागे। यसरी भाग्दै र लुक्दै, कहिले सिन्धुपाल्चोक, कहिले काठमाडौँ र कहिले पोखरा बस्दै आएका उक्त जोडीले बिहे गरेको एक वर्षपछि बच्चा जन्मियो।
बच्चा जन्मेपछि पनि कविताको परिवारबाट लुक्दै भाग्दै काम गर्दै जसोतसो नवजात छोरीका साथमा रमाइरहेका थिए। त्यसैबीच, जिल्ला अदालत स्याङ्जाले विपीनलाई बलात्कार ठहर गर्दै १२ वर्षको जेल सजाय सुनायो। दुई वर्षयता विपीन कारागारमा छन्। अन्तर्वार्ताअनुसार बिहेको २ वर्षपछि 'श्रीमतीलाई बलात्कार' ठहर जिल्ला अदालत स्याङ्जाले गरेको हो।
आफ्नै श्रीमतीलाई पुरुषले यौनजन्य पीडा दिने, बिरामी हुँदा र वृद्धावस्थामा समेत 'नछाड्ने' पुरुषका कर्तुत र त्यसको पीडा मैले कैयौँ हजुरआमाहरूबाट मैले सुनेको छु। त्यसको मतलब श्रीमानले श्रीमतीलाई बलात्कार गर्छ र गर्नसक्छ। सोही अत्याचारबाट मुक्तिका लागि नै वैवाहिक बलात्कारसम्बन्धी कानून बनेको हो। तर, कविता र विपीनको कथा अलग हो। कथित सानो जात हुनुको भुक्तमान विपीनले भोगेका हुन्। अतः यो अन्याय हो। यतिखेर विपिन, कविता र उनकी अबोध छोरी जात व्यवस्थाबाट दण्डित भएका छन्। यो एउटा मात्र उदाहरण हो। अहिले पनि दलित युवाहरू अन्तरजातीय विवाह गरेका कारण जेल जीवन बिताइरहेका छन्।
कम उमेरमा विवाह गर्नु गलत र गैर कानूनी हो, तर 'उच्च जात'का घरमा कम उमेरमै विवाह भयो भने त्यसबारे कसैले उजुरी गर्दैन। आफन्त र समाजको सहमतिमा उच्च जातीय समुदायमा सहजै बिहे हुन्छ। अतः त्यो स्वतः स्वीकृत र वैध ठहरिने गरेको छ। दुःखको कुरा, वैवाहिक बलात्कारलाई त अझै पनि हाम्रो समाजले 'बलात्कार' मानेको छैन। त्यसो हुँदा विरलै वैवाहिक बलात्कारमा न्यायालयले पनि आरोपितलाई दण्डित गरेका छन्। तर विपीनको हकमा भने फटाफट 'न्याय' दिइएको छ।
समाज विकासका दृष्टिकोणबाट अन्तर्जातीय विवाह आफैँमा राम्रो हो। समाजको विभेद घटाउन र समता स्थापना यस्ता बिहेहरू आफैँमा उदाहरण हुन् । तर खास जाति र वर्गका बलात्कार आरोपितहरू धरौटीमा रिहा भएर सिन्दुरे जात्रा गर्दै गर्दा बलात्कार या बाल विवाहको कसुरमा उच्च जातीय दबदबा भएको न्यायालयले दलित युवामाथि आँखा चिम्लेर 'न्याय' गर्ने गरेको छ। एक थरी जमात 'सो कल्ड् सेलिब्रेटी'हरू निर्दोष छन् भन्दै जुलुससमेत निकाल्दै गर्दा निमुखा र दलित युवाहरू 'प्रेम गरेबापत' जेलमा सड्दै छन्।
उत्पीडन र अत्याचारका घटनाको इतिहास हेर्दा के थाहा हुन्छ भने हाम्रो देशको कानून खास वर्ग र जातको रक्षा खातिर उभिन्छ। अन्तरजातीय प्रेमकै कारण रुकुम हत्याकाण्ड भएको हो तर न्यायालयले हत्याराहरूलाई पीडितको दुखमा मलम लगाउने गरी सजाय दिएन।
प्रेम र विवाहमा दलित उत्पीडनमा परेका केही उदाहरण हेरौँ। २०६९ सालमा सप्तरीका शिवशंकर दासले अन्तरजातीय विवाह गरेका कारण ज्यान गुमाए। सोही साल दैलेखका सेते दमाई अन्तरजातीय विवाहका कारण मारिए। २०७० सालमा तनहुँकी संगीता परियार र २०७३ मा झापाकी अस्मिता सार्की र काभ्रेका अजीत मिजार अन्तर्जातीय प्रेम र विवाह सम्बन्धकै कारण मारिए। नवराजको हत्या भएकै दिन रुपन्देहीको १३ वर्षीय किशोरी अंगीरा पासीको बलात्कारपछि हत्या भयो।
'दलित मानव अधिकार पुस्तक २०७८' अनुसार जातकै आधारमा सो वर्ष हत्या, प्रहरी हिरासतमा मृत्यु, जबरजस्ती करणी, अन्तरजातीय प्रेम विवाहमा विभेद लगायत ८८ वटा घटना भए। दुखद के छ भने, ८८ घटनामध्ये १० वटाको मात्र जिल्ला अदालतहरूबाट कानूनी उपचार भयो। त्यसमध्ये तीनवटा मुद्दामा मात्रै आरोपी उपर सजाय भयो। बाँकीले सफाइ पाए।
विभेदी समाजका उत्पीडन झेलेका आधारमा हामी भन्नसक्छौँ, यो समाज अति जातिवादी छ। अनेकौँ युद्ध र लडाइँको बलबाट समाजको जातिद्वेष विभेदविरुद्ध लड्न कानून बनाइएका हुन्। वैवाहिक बलात्कार अपराध हो र त्यसविरुद्ध जुझ्नका लागि सो कानून बनाइएको हो। बालबालिका र किशोरीहरूको असमयमै बिहे भयो र त्यसले अनेकौँ समस्या निम्त्याएका कारण बिहेका लागि युवायुवतीको उमेर तोकिएको हो।
तर, उत्पीडित समुदायका युवाहरूलाई ङ्याँक्न सो कानूनको दुरुपयोग हुन थालेको छ। दलित युवाले उच्च जातको युवती बिहे गर्दा स्वतः बलात्कार कायम गर्न खोज्ने, तर्साउने या बाल विवाहको आरोपमा मुद्दा लगाएर थुनाउने र कुनै पनि हालतमा बिहे खारेज गराउने चलन छ। पहिले उत्पीडन र अत्याचारमा परेको समुदाय र व्यक्तिले विभेदकारी समाजसँग लड्नुपर्थ्यो, अब न्यायालयका पूर्वाग्रह र कानूनी छिद्रहरूसँग पनि भिड्नुपरेको छ।
परियार सामाजिक न्यायको अभियानमा सक्रिय छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
