राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सो पदको उम्मेदवारलाई मत नदिने निर्णय गरेको नेता राजाराम श्रेष्ठले बताए।

बैठकले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ।

हाल बैंकबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेकाले ब्याजदर तत्काल नियन्त्रण गर्न र देशमा वित्तीय सन्तुलन कायम राख्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। 

बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधनका लागि सरकारसँग राप्रपा बैठकले माग गरेको छ।