प्राणी हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकास हुँदै गएकाले बलिप्रथा हराउँदै गएको हो। बलिको सट्टा नरिवल फुटाएर पूजा गर्ने,फलफूल चढाउने र लाखबत्ती बाल्ने चलन बढेको छ।
ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा केहीवर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो।
देवीलाई बलि चढाउँदा देवी खुशी हुने र आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे।
तर, अहिले यो चलन क्रमशः घट्दै गएको छ। हिजोआज विरलै मात्र पशु बलि दिने गरिएको पुजारी डिल्ली आचार्यले बताए। “पहिले दिनमै ५०० देखि एक हजार २०० सम्म पशुको बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० वटा बलि चढाइन्छन्,” आचार्यले भने, “बलिको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्नुहुन्छ। फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको छ।”
बलि चढाउँदा पशुपंक्षीको रगतले राताम्य हुने मन्दिर परिसर सुन्दर र सफा पनि हुन थालेको छ। रगतका कारण हुने फोहोर र दुर्गन्धसमेत हटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको भनाइ छ। प्राणी हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकासले पनि बलिप्रथा हराउँदै गएको झपाबाट पाथीभरा आएका विष्णुप्रसाद आचार्यले बताए।
धर्मका नाममा निर्दोष पशुको बलिप्रथा अन्त्य गर्नुपर्छ भन्ने आवाजहरू उठ्न थालेकाले विस्तारै न्यूनीकरण हुँदै जाने उनको भनाइ छ। बलिप्रथा न्यूनीकरण हुँदै जाँदा पाथीभरा क्षेत्रमा सामुदायिक कुकुर पुग्ने क्रम घटेको छ। रेडपान्डाको बासस्थान मानिने पाथीभरा क्षेत्रमा कुकुरको आक्रमणमा रेडपान्डा पर्थे।
अहिले कुकुरको आक्रमणबाट रेडपान्डा बच्न थालेको रेडपान्डा संरक्षणमा काम गर्दै आएका रमेश राईको भनाइ छ। बलि चढाएको पाठापाठीको मासु प्रशस्त हुने हुँदा गाउँघर र गोठबाट अत्यधिक कुकुरहरू पाथीभरा क्षेत्रमा पुग्थे। राईका अनुसार मन्दिर सफा गर्ने क्रममा फालिने मासुजन्य फोहोर, खाएर बचेको मासु जताततै फालिने हुँदा कुकुरहरू पाथीभरा क्षेत्रमा जान पल्किने गरेका थिए ।
“यसरी बलिका नाममा निर्दोष पशु हत्या घट्नुले पाथीभराको सुन्दरता मात्रै बढेको छैन। स्थानीय स्तरमा पाइने वन्यजन्तुको समेत संरक्षण भएको छ,” राईले भने।
यसरी शुरू भयो बलिप्रथा
बलिप्रथा किन र कसरी शुरू भयो भन्नेबारे फरकफरक तर्कहरू पाइन्छन्। देवीको उत्पत्तिबारे एउटा किंवदन्ती छ। जसअनुसार परापूर्व कालमा एउटा भेडीगोठ थियो।
भेडाको संख्या हजारौँ भएकाले गोठालाहरू पनि थुप्रै थिए। भेडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र)मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पुर्याए। जुन बेला त्यहाँ देवी अवस्थित रहेको भन्ने उनीहरूलाई थाहा थिएन।
गोठालाहरू त्यहीँ गोठ बनाएर बास बसे। भोलिपल्ट बिहान उठेर हेर्दा एउटा पनि भेडा देखेनन्। साँझ जम्मा भएका भेडा एकाएक हराएको पाएपछि अचम्ममा परे। उनीहरूले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन्। साँझ निराश हुँदै बासस्थानतर्फ फर्किएर सुते।
राति सपनामा एक जनाले देवीको रूप देखेछन्। सपनामै ती देवीले ‘तिमीहरू नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउने छौ र तिम्रो मनोकामना पनि पूरा हुनेछ’ भनिछन्। देवीको यस्तो कुरा सुनेपछि गोठालाले पनि ‘हुन्छ, म तपाईँले भनेबमोजिम गर्छु’ भनेछ।
त्यतिकैमा ती गोठाला निन्द्राबाट बिउँझिए। यसो हेर्दा आफ्ना हराएका सबै भेडा देखे। त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे। यसरी भएको घटना जताजतै फैलियो।
त्यहाँ मानिसहरू पूजाआजा गर्नका लागि जान थाले। गोठालालाई सपनामा देवीले भेडाको बलि दिनु भनेर भनेकाले सबैले बलि दिएर पूजाआजा गर्न थाले। महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली यी पाँच वटा रूप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रूपमा मान्ने गरिएको पुजारी आचार्य बताउँछन्।
पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने परम्परा छ। “पाथीभराको महत्त्व, आस्था र विश्वास वर्षौँ पहिले जस्तो थियो अहिले पनि उत्तिकै छ,” उनले भने, “यहाँ सिजनमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
