केन्द्रीकृत मानसिकताबाट प्रदेशको विकास हुन सकेन : मुख्यमन्त्री अधिकारी

लामो संघर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको अधिकारीको भनाइ छ। 

तस्वीर : रासस

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जे लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले प्रदेशको विकासमा चुनौती खडा भइरहेको बताएका छन्।

प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री अधिकारीले संघीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गरे।

“संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य सर्त हो,” उनले भने, “लोकतन्त्रको जेठासी र क्रान्तिकारी हुँ भन्नेबाट पनि संविधान उल्लंघन भएको छ।” दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको उनको भनाइ छ।

“प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन–तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ,” उनले भने, “यो दुर्भाग्यपूर्ण विषय हो। हामी प्रदेश मन्त्रालयको संख्या घटाएर जनताको नजिकैको सरकारको अनुभूति दिलाउन खोजिरहेका छौँ।”

लामो संघर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको अधिकारीको भनाइ छ।

प्रदेशले केन्द्रीय सरकारबाट खास गरी प्रहरी समायोजन तथा संघीय निजामती ऐन र साझा अधिकारसम्बन्धी ऐन छिटो आओस् भनेर जोडबल गरिरहेको र वित्तीय अधिकारलगायत विषयमा छिटो कानुन तर्जुमा नहुँदा ठूलो चुनौती खडा भइरहेको धारणा राखे।

उनले प्रदेशको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय सरकारले तत्काल जग्गा प्राप्ति ऐनमा संशोधन गरेर स्वामित्व र  निर्क्योल गर्न सक्ने अधिकार स्थानीय तह र प्रदेशलाई दिन माग गरे।