नेपाल सबै मित्रराष्ट्रको सहयोगबाट अघि बढ्न चाहन्छ : सभामुख घिमिरे

अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४६औँ महासभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताए। 

काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन्।

सोमबार बेलुका बहराइनमा अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४६औँ महासभालाई साँझ सम्बोधन गर्दै सभामुख घिमिरेले असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत पक्ष रहेको बताएका हुन्। 

“शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित छन्,” उनले भने, “त्यसैले हामी हाम्रा सबै मित्रराष्ट्रबाट साथ र सहयोगबाट अघि बढ्न चाहन्छौँ।”

नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको उनको भनाइ थियो। सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गरेको बताए।

“हरेक मुलुकले आफ्नो अनुभवका आधारमा आफ्नै मौलिक संसदीय शासन प्रणाली विकास गरेका छन्,” उनले भने, “एक अर्काका अभ्यास र सिकाइले संसदीय व्यवस्थालाई प्रभावकारी र बलियो बनाउन मद्दत पुग्ने विश्वास लिएको छु।”

संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने उद्देश्यले स्थापित नामको सान्दर्भिकता विश्वशान्तिविरुद्ध हुने गतिविधि, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटना वृद्धि भइरहेको सभामुख घिमिरेको भनाइ थियो।

विकासशील देशले निरन्तर रूपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा असमानताको महसुस गरिरहेको र ती चुनौती रहँदासम्म शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने उनले बताए।