कस्तो छ मंगलबारको मौसम?

अपराह्नपछि लुम्बिनी प्रदेशसहित तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

साथै अपराह्नपछि लुम्बिनी प्रदेशसहित तराईका जिल्लामा पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ। यसैगरी राति कोशी, बागमती र गण्डकीका पहाडी भागमा हल्का वर्षा हुने छ।

हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।