लिग–२ : यूएईविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत यूएईविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। यूएईले केही समयपछि बलिङ गर्ने छ।

यसैबीच नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले प्लेइङ ११ मा दुई परिवर्तन गरेका छन्। उनले ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएका छन्।

उनीहरूले ज्ञानेन्द्र मल्ल र करण केसीको स्थानमा मौका पाएका हुन्। नेपाल ओडीआई मान्यता जोगाउन एक कदम मात्रै पर छ। नेपालले सन् २०१८ मा पहिलोपटक ओडीआई मान्यता पाएको थियो। त्यसयता खेलेका ३३ खेलमा १६ जित, दुई बराबरी र १६ हारसहित ३४ अंक जोडेको छ।

नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ। नेपालले यसअघि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँगको सिरिज ‘क्लिन स्विप’ गरेको थियो। यस्तै, यूएईमा घरेलु टोली र पपुवा न्यू गिनीसँगको सिरिजका चारमध्ये तीन खेलमा विजयी हुँदै १६ मध्ये महत्त्वपूर्ण १४ अंक जोडेको थियो।

सात राष्ट्र सहभागी लिगको शीर्ष तीन टोलीले आगामी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्। शीर्ष पाँचमा रहने टोलीले भने ओडीआई मान्यता कायमै राख्ने छन्।

लिग–२ का ३६ वटै खेल खेलेको स्कटल्यान्डको ५०, ओमानको ४४, नामिबियाको ३९ र अमेरिकाको ३५ अंक छ। उनीहरू अंक तालिकामा क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। चार खेल खेल्न बाँकी यूएई ३१ अंकसाथ छैटौँ स्थानमा छ। पपुवा न्यू गिनी ३३ खेलबाट ९ अंक बटुल्दै पुछारमा छ।

नेपालको शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवितै छ। पपुवा न्यू गिनी भने विश्वकप छनोटको क्वालिफायर प्ले अफ खेल्न खेल्ने निश्चित भइसकेको छ।