उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

गठबन्धनबाट उम्मेदवारी दिएका रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेले उजुरी दिएको छ। 

काठमाडौँ– उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशन गरेर नाम फिर्ताका लागि समय दिने छ।

दिउँसो १ देखि ४ बजेसम्म नाम लिने कार्यतालिका छ। त्यसपछि अन्तिम नामावली प्रकाशन हुने छ। यसअघि शनिबार मनोनयन दर्ता र उम्मेदवारविरुद्ध उजुरी दिने समय ताेकिएकाे थियो। गठबन्धनबाट उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरुद्ध परेको थियो।

यादवको उम्मेदवारी संविधान र निर्वाचन कानूनविपरीत रहेको भन्दै एमालेले उनको मनोनयन खारेज गर्न माग गरेको छ। एमालेले उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले नगरेको उल्लेख गरेको छ।

यादवको उम्मेदवारीले महिलाहरू अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा उनको उजुरी खारेज गरिनुपर्ने जनाएको छ। उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुने कार्यतालिका छ।