विज्ञान पढाउने तर विज्ञान नबुझ्ने ती शिक्षकलाई मैले भनेँ, 'जेसुकैको होस्, धुवाँ भनेको धुवाँ नै हो। स्वास्थ्यका लागि हानिकारक हुन्छ, वातावरण प्रदूषित पार्छ।'
झन्डै छ दशकअघिको कुरा, जतिखेर म भर्खर कलेज पढ्दै थिएँ। कलेजको पहिलो दिन 'ओरिन्टेसन् क्लास' चल्दै थियो। एक जना जीव विज्ञानका प्राध्यापक हामीलाई नयाँ कुरा भन्दै थिए। उनी चार्ल्स डार्बिनको 'जातिहरूको उत्पत्ति'बारे बताउँदै थिए। कतिका लागि शायद त्यो कुरा नौलो थिएन होला, तर मलाई प्राध्यापकको व्याख्या नौलो र औधी सुरुचिपूर्ण लाग्यो। त्यसो हुँदा, मेरो सम्पूर्ण ध्यान तिनको 'लेक्चर'मा थियो। विद्यालय पढ्ने बेलादेखि नै विज्ञान विषयप्रति मेरो अलि बढ्तै रुचि थियो, कलेज जान थालेपछि भने विज्ञानको दर्शन पक्षतर्फ पनि मन जान थाल्यो।
जीव-जातिहरूको उत्पत्तिका विषयमा दुई धार छन्; सृष्टि–रचना–सिद्धान्त र विकासवाद। सृष्टि–रचना–सिद्धान्तले एकतर्फ संसारदेखि पृथ्वीका सबै प्राणीलाई भगवान्को निर्माण ठान्छ भने विकासवादी–वैज्ञानिक धारणाले पृथ्वीका यावत् जीवजन्तुहरू क्रमशः एक कोषीय जीवबाट विकसित हुँदै यहाँसम्म आएको र थप विकसित हुँदै जाने व्याख्या गर्छ। शिक्षक जीव विज्ञान संकायका भएकाले डार्बिनवादमै उनको विचार र व्याख्यान सीमित थियो।
उनी डार्बिनवादी थिए, म स्वयंचाहिँ उतिखेर यो जगत् र प्राणी सबै भगवान्कै सिर्जना हो भन्नेमा विश्वास गर्थेँ, किनकि मैले सानैदेखि त्यही कुरा सुन्दै आइरहेको थिएँ। यद्यपि, तर्कप्रति मेरो रुचि भएका हुनाले म सधैँ प्रश्न गर्न या कुनै कुरालाई सहज स्विकार्नुभन्दा छलफल गर्नमै रुचि राख्थेँ। सानैदेखि मभित्र एउटा प्रबल प्रश्नकर्ता थियो। चित्त नबुझेको कुरामाथि प्रश्न गर्नु मेरो स्वभाव थियो। मैले अध्यापकलाई प्रश्न गरेँ, 'सर, संसार भगवान्ले बनाएको नभए यो फ्याट्टै कहाँबाट आयो त?' त्यतिखेर मेरा प्रश्नहरू त्यति गहकिला र सारगर्भित हुने थिएनन्, न त शिक्षक नै हाम्रो अपरिपक्व मस्तिकमा वैज्ञानिक तथा तार्किक कुरा भर्दिन सक्ने ल्याकत राख्थे। उनले पनि उति चित्त बुझ्दो उत्तर दिन सकेनन्।
उसो त विज्ञानका उत्तरहरू बुझ्नका लागि धार्मिक पूर्वाग्रहबाट मुक्त पनि हुनुपर्छ, जुन धेरै कठिन छ। सँगै विज्ञान बुझ्न ध्यानकेन्द्रित गर्नुपर्छ। अध्ययन र आलोचनात्मक चेत पनि चाहिन्छ। अध्यात्ममा प्रश्न होइन, आज्ञाकारिता चाहिन्छ। प्राधिकारले जे भन्यो, त्यही सुन्नुपर्छ, मान्नुपर्छ। सृष्टि रचना सिद्धान्तवालाहरूको कुरा पनि त्यही हो। यी सबै कुरा कुनै परम शक्तिले सिर्जना गर्यो। जगत्मा जे हुन्छ, त्यही परम शक्ति या ईश्वरका कारण हुन्छ। अध्यात्ममा सबै कुराको उत्तर हुन्छ भने विज्ञानमा त्यो सम्भव हुँदैन, किनकि विज्ञान प्रमाणमा आधारित हुन्छ भने अध्यात्म अन्धाधुन्ध विश्वासमा मात्र। अहिले आएर यी सबै कुरा बुझ्न थालेको छु। विज्ञान खोजी गर्न तिर लाग्छ, निरन्तर प्रश्न र सन्देह गर्न लाग्छ भने अध्यात्ममा कुनै प्राधिकारवाला व्यक्तिको अनुमानलाई नै सबै प्रश्नको उत्तर ठानिन्छ।
वैज्ञानिक सोच र तर्क अझै समाजमा स्वीकार्य छैन, किनकि अझै पनि शिशुहरूलाई उनीहरूले सोच्नै नसक्ने बेलामै अन्धविश्वास र कुरीतिहरू सिकाइन्छ। पुराना कथाहरूलाई सत्य भनेर परिभाषित गरिन्छ, व्याख्या गरिन्छ र पुष्टि गर्ने कोशिश गरिन्छ। सानो हुँदा जे सुनिन्छ, जे पढिन्छ र जे बुझिन्छ, धेरै मान्छेले त्यसैलाई जीवनभर सत्य ठान्छन्। हुर्किसकेपछि वैज्ञानिक शिक्षा र संगतले पनि हत्तपत्त मान्छे बदलिँदैन। प्रारम्भमा जुन विचारधाराले मनमस्तिकमा जरो गाडेको हुन्छ, त्यसलाई पछि उखाल्न धेरै गाह्रो हुन्छ।
गाई र भैँसी
हामी गाईलाई गौमाता भनेर पूजा गर्छौ, तर भैँसीलाई भैँसीलाई 'महिषासुर' भनेर बुझ्छौँ। हामीलाई बाल्यकालमा त्यही सिकाइएको छ, तर गाईको भन्दा भैँसीको दुध मिठो मानेर खान्छौँ। के तर्क छ यसमा? यो केबल आस्था हो; हजारौँ हजार वर्षदेखि मानिँदै आएको अटुट विश्वास। दुध दुवै सेतो हुन्छ; भैँसी र गाईमा जैविक अथवा संरचनात्मक फरक केही देखिन्न। हेल्थलाइन डटकमको कुरा मान्ने हो भने त भैँसीको दुधमा गाईको दूधको तुलनामा फ्याट, प्रोटिन, ल्याकटोज, भिटामिन र मिनरलको मात्रा बढी हुन्छ। यो गाईको दुधभन्दा बाक्लो पनि हुन्छ।
तर उल्टै, धार्मिक रूपमा प्रभावित भएर गाईको महिमा मण्डन बढी गरिन्छ। गाईका बारेमा बढाइचढाइ कुरा गरिन्छ। यो कुरा शिशुहरूलाई बुझाउने जिम्मा वयस्क तथा स्कुल, कलेजका शिक्षकहरूको हो। तर त्यहाँ यस्ता कुरा सिकाइँदैन। दुध खुवाउने एउटा जनावर पूजनीय हुन्छ भने दुध नै खुवाउने अर्कोचाहिँ किन निन्दनीय र दानवतूल्य बन्छ? दानव भनेकै आखिर के हो? यस्तो विभेद किन?
एक दिन म कुनै आफन्तको पूजा समारोहमा गएको थिएँ। 'कुल पूजा'को निम्ता थियो, जानै पर्यो। आस्था भएर होइन, आफन्तहरूसँगको भेट नछुटाऊँ भनेर। यस्ता आयोजनाहरू भेटघाटको अवसर पनि हो। यस्ता जमघटमा पुग्दा म प्रश्नहरू भने उठाउँछु, किनभने मलाई प्राधिकार र सत्तालाई चुपचाप स्विकार्नु मरेतुल्य लाग्छ। तर त्यस्तो बानीले बेलाबेला अप्ठ्यारो पार्छ। आफूलाई आफ्नो समुदायमै अमिल्दो बनाइदिने रहेछ, किनभने हाम्रोमा प्रश्न रुचाइन्न। चित्त नबुझेको कुरामा नबोली बस्नै नसक्ने बानीले बाल्यकालमा कति गाली खाइयो।
कुल पुजाको 'होम'मा पुरोहितले चरु दिँदै थिए, मैले भने चरु लिइनँ। किन चरु नलिएको भनेर विज्ञान पढेका र विज्ञानै पढाउने एक आफन्त शिक्षकले मलाई प्रश्न गरे। मैले भनेँ, 'यसरी घिउमा मुछेको चामल हालेर अनावश्यक रूपमा धुवाँ निकाल्नु आवश्यक छैन। वातावरणका लागि यो पटक्कै राम्रो कुरो होइन। उनको तर्क थियो, 'चरु हालेपछि यसको धुवाँले वातावरण राम्रो बनाइ दिन्छ र वृष्टि गराइदिन्छ (पानी पार्नमा मद्दत गर्छ), हाम्रा प्राचीन ॠषिमुनिहरूले खडेरी लाग्यो भने होम गरेर पानी पार्थे।' उनले यसमा वैज्ञानिकता छ भनेर दर्शन छाँट्न थाले, अनि पढी टोपलेका आसेपासेहरूले पनि आफ्नै मनगढन्ते तर्क दिन थाले।
'एक्लो वृहस्पति झुठो' भनेझैँ मैले आफ्नो तर्क पुष्टि गर्ने अवसर पाइनँ। मलाई लाग्यो, 'संग्रहित र संगठित झुटो बकवासको अगाडि तर्क र विज्ञान अशक्त हुन्छ।' उसो त सिंगो दक्षिण एशिया र विपन्न मुलुकहरूमा 'छद्म विज्ञान'को प्रचारप्रसार गर्नेहरूको संख्यामा कमी छैन। सामाजिक सञ्जाल त्यस्ता हावादारी ज्ञान फैलने माध्यम बनेका छन्। सत्य र विज्ञानको पक्षमा लाग्दा समाजबाट बहिष्कृत हुने र दण्डित हुने तथ्य त धेरै पुरानो हो। त्यसो हुँदाहुँदै पनि विज्ञान पढाएर विज्ञान नबुझ्ने ती सज्जनलाई मैले भनेँ, 'जेसुकैको हो, धुवाँ भनेको धुवाँ नै हो। स्वास्थ्यका लागि त्यो हानिकारक हुन्छ। त्यसले वातावरण प्रदूषित पारिदिन्छ।' मेरो आवाज त्यो ठूलो जमातभित्रको होहल्ला र पूर्वाग्रहमा विलीन हुन पुग्यो। म चुपचाप बस्न बाध्य बनेँ।
हाम्रा विद्यालयहरूमा विज्ञान र वातावरणसम्बन्धी पाठ्यपुस्तकहरू छन्। त्यहाँ प्रयोगमा नआउने अनेकौँ विषयहरू लेखिएका हुन्छन्, तर आगो या अन्य जुनसुकै वस्तु जलाउँदा त्यसबाट वायु प्रदूषण हुन्छ भनेर पढाइँदैन। जे पढिन्छ, पढाइन्छ त्यो प्रयोगमा आउँदैन। त्यसो हुँदा प्लास्टिक र रबर बाल्दा निस्कने धुवाँ स्वास्थ्यका लागि अत्यधिक हानिकारक हुन्छ भन्ने कुरासम्म वातावरण र विज्ञान पढेका केटाकेटीलाई ज्ञान छैन। सडकका छेउछाउ मात्रै होइन, सरकारी कार्यालयभित्र समेत कागजसँगै रबर, प्लास्टिक बालिरहेको भेटिन्छ। त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने बुझेको भए सायद कर्ताहरू रोकिन्थे होलान्।
मेरी नातिनी अहिले पाँच वर्ष पुगिन्। एक दिन उनले खाना नखाएर फालेपछि मैले भनेँ, 'तिमीलाई थाहा छ, तिमीले खाने खाना कहाँबाट आउँछ?' उनले जवाफ दिइन्, 'खानेकुरा त अन्नपूर्ण माताले दिएको हो बुवा।' शिक्षाका अनेकौँ 'डिग्री होल्डर'हरूका बच्चाहरूले समेत यस्ता झुट सिकिरहेका हुन्छन् भने पढ्नलेख्न नजान्ने बाबुआमा बच्चाहरूले के सिकिरहेका होलान् या बुझिरहेका होलान्? मैले मेरी नातिनीलाई त्यस्ता झुटहरू मनमस्तिष्कबाट हटाउन निकै समय खर्च गरेको छु। उनलाई खेतबारीमै लगेर धानका बाला र मकैका घोगाहरू देखाएको छु। त्यसपछि उनले आफूले खाने अन्नको स्रोतबारे बुझ्न थालेकी छन्। बच्चाहरूमाझ समाज र अपूर्ण शिक्षाले पिलाएका झुट निराकरण गर्ने विषय हामी सबैको सरोकार होइन र?
हामी जे कुरालाई 'संस्कार' भन्छौँ, त्यसभित्रका विकार देख्न सक्दैनौँ। उल्टो त्यसबारे तर्क र व्याख्यान दिन्छौँ। अहिले पनि लामा, झाँक्री र पुरेतहरूबाट शुभ, अशुभ, ग्रहदशा, भाग्य तथा कर्मकाण्डहरूमार्फत सर्वसाधारण लुटिइरहेका छन्। गाउँमा मात्रै होइन, शहरमा समेत महिलाहरूले बोक्सीको आरोपमा कुटाइ खाइरहेछन्। बोक्सीलाई डामेका खबर बेलाबेला सुन्छौँ। झारफुक गर्ने क्रममै मान्छे मारिएका समेत छन्। केही दिनअघि मात्र रूपन्देहीमा स्नातक तहसम्म पढेकी एउटी माताले 'झारफुके उपचार'का क्रममा एक किशोरीको ज्यान गएको छ। त्यस्ता माता र बाबा बनेर सिधा-सादाहरूलाई ठग्नेहरू सर्वत्र भेटिन्छन्। टिकटकमार्फत नै धेरै मान्छेलाई फसाएर कमाऊ धन्दा गर्ने धेरै 'झारफुके'हरू छन्। छुइ या 'नछुने'का नाममा अझै घरघरमा 'छाउपडी' प्रथा जारी छ। महिनावारी चक्रमा नारी अछुत रहने कुरालाई 'वैज्ञानिक रूपमै पुष्टि' भएका व्याख्यानयुक्त प्रवचन दिनेहरू विश्वविद्यालयका प्रांगणमा भेटिन्छन्।
यदि, शिक्षाले मान्छेलाई तर्कशील बनाउन सक्दैन भने त्यो शिक्षा बेकामे हो। ससाना बच्चाहरूमा राज्य र परिवारले गरेको लगानीले स्वयं उस/उनको जीवनमा सुखद परिणाम त ल्याउनै पर्छ, सँगै समाजमा पनि। शिक्षा र ज्ञान आर्जनमा लगाव र मिहिनेतको जरुरी छ, तर 'सरस्वतीको पूजा गरे उनले स्वतः हामीलाई दीक्षित बनाइदिन्छिन्' भन्ने धारणा कैयन् बाबुआमाको छ, जबकि यस युगमा विज्ञानले अकल्पनीय परिवर्तन ल्याइसकेको छ। तर त्यसका लागि वैज्ञानिकहरूको मिहिनेत, सोध र लगावले काम गरेको छ। मुटु, कलेजो, मिर्गौलालगायत अनेक अंग प्रत्यारोपण गर्न सफल विज्ञान छिनेको टाउकोसमेत जोड्न सकिन्छ कि भनेर सोध गरिरहेछ।
सञ्चार तथा यातायातका कारण संसारको पुराना प्रणालीहरूमै कायापलट भइसकेको छ। कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को युगमा प्रवेश गरेका छौँ। यो युगमा हामी अझै पनि दन्त्यकथाहरूबाट प्रभावित भएर अन्नपूर्ण देवीले अन्न दिन्छिन् र भ्यागुताको गीत सुनेर इन्द्रले पानी पारिदिन्छन् भन्ने कुराहरूमा अल्झन्छौँ भने हामीले समाजमा अन्धविश्वास फैलाइरहेका छौँ। स्वस्थ र समृद्ध समाजका लागि आलोचनात्मक चेतनाको जरुरी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
