२४ वर्षअघिको त्यो हारजङ हत्याकाण्डः आलै छ युद्धको घाउ

हारजङ हत्याकाण्डमा संयोगले बाँचेका हस्ते रोका २४ वर्षदेखि मानसिक समस्यामा छन्। हिँडडुल गर्न लठ्ठीको सहारा लिनुपर्छ। उपचारका लागि जग्गा बिक्री गरेर पनि नपुग्दा ऋण लागेको परिवारका सदस्य बताउँछन्।

हस्ते रोका। तस्वीर: उकालो

रोल्पा– हारजङका हस्ते रोका (७१) को होस गुमेको २४ वर्ष भयो। उनी लठ्ठीको सहाराले मात्र हिँडडुल गर्न सक्छन्। राम्रोसँग बोल्न पनि सक्दैनन्।

तत्कालीन नेकपा माओवादीले हिंसात्मक विद्रोहको थालनी रोल्पासहितका जिल्लाबाट गरेको थियो। त्यसको तीन वर्षपछि माओवादी कार्यकर्ताले रोल्पाको हारजङस्थित एक घरमा आगो लगाएका थिए। जसमा जलेर तीन जनाको मृत्यु भएको थियो। आगो लागिरहेको घरबाट भाग्ने प्रयास गर्ने अन्य पाँच जनाको गोली हानेर हत्या गरिएको थियो।

यो घटना हारजङ हत्याकाण्डका रूपमा चर्चित छ। हस्ते रोका त्यही हत्याकाण्डमा संयोगले बाँचेका थिए। उनीमाथि खुकुरी प्रहार भएको थियो। त्यतिबेला उनको टाउको छियाछिया गरी काटिएको छोरा दलबहादुर बताउँछन्। त्यहीकारण उनको मानसिक सन्तुलन बिग्रिएको दिलबहादुरको भनाइ छ।

उनको उपचार सफल हुन सकेन। परिवारले उपचारका लागि नेपालगन्ज, बुटवल हुँदै काठमाडौँसम्म पुर्‍याएका थिए। बाबुको उपचारका लागि जग्गा बेचेर पनि नपुगेपछि ऋणसमेत लिनु परेको दलबहादुर सम्झन्छन्। आक्रमणमा पर्दा हस्ते ४७ वर्षका थिए। 

२०५५ फागुन २६ गते भएको हत्याकाण्डमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमा साविक हारजङ गाविस वडा नं. १ का बेकमबहादुर पुन वडा नं. ३ का मनबहादुर गिरी, अमृत गिरी, पुस्ते गिरी, नरबहादुर पुन, ढाँटे पुन, ऐभान पुन, गोपाल गिरी र तिर्खराम गिरी छन्।

अमृत गिरी, पुस्ते गिरी र ढाँटे पुनको घरभित्रै जलेर मृत्यु भएको थियो। आगो लागिरहेको घरबाट बाहिर निस्कन खोज्ने बेगम पुन, मनबहादुर गिरी, नरबहादुर पुन, ऐभान पुन र तिर्खराज गिरीमाथि गोली प्रहार गरिएको थियो। गोपालबाहेक अन्य चार जनाको घटनास्थलमा नै ज्यान गएको थियो। गोपालको २०५६ साउन १ गते मृत्यु भएको थियो। 

राज्यपक्ष र माओवादीको चेपुवामा स्थानीय
२०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र संघर्षमा तत्कालीन मोओवादीले रोल्पाका ग्रामीण क्षेत्रलाई आधार इलाका र प्रचार इलाकामा विभाजित गरेका थिए। हारजङ गाउँ प्रचार इलाकामा पर्थ्यो। माओवादी कार्यकर्ताहरू राति हारजङका घरमा भित्तेलेखन गर्थे। दिउँसो गस्तिमा निस्किएका प्रहरीले नारा लेखेको आरोपमा गाउँलेलाई यातना दिन्थे।

यस्तो घटनाले आजित स्थानीय प्रहरीको यातनाबाट बच्न माओवादीले लेखेको नारा आफैँले मेट्ने निश्कर्षमा पुगे। उनीहरूले केही घरमा लेखेको नारा मेटे। नारा मेटेको थाहा पाएपछि माओवादी कार्यकर्ताले गाउँकी एक वृद्ध महिलालाई कुटपिट गरे। उक्त घटनाबाट स्थानीय आक्रोसित बनेका थिए। रातको समयमा माओवादीले नारा लेख्ने, बिहान उठेर स्थानीयले मेट्ने क्रम केही समय चलिरह्यो। 

प्रहरी र माओवादीको ज्यादती बढ्दै जाँदा स्थानीयहरू आजित भइसकेका थिए। माओवादीको प्रतिकार गर्ने वा गाउँ छाडेर जाने दुई विकल्प मात्र उनीहरूको अगाडि थियो। उनीहरूले पहिलो विकल्प रोजे। गाउँलेको सल्लाहमा प्रतिकार समिति बन्यो।

प्रतिकार समितिका सदस्यले भित्ते लेखन गर्न गएका आफ्ना चार कार्यकर्ताको हत्या गरेको तत्कालीन माओवादीको दाबी थियो। त्यसकै बदलास्वरूप हारजङको एक घरमा भेला भएका स्थानीयलाई घेरा हालेर हत्या गर्ने उद्देश्यले आगो लगाइएको थियो। आगो लगाएपछि पनि बन्दुक बोकेका माओवादी कार्यकर्ताले घरलाई घेरा हालेर बसेका थिए।

शान्ति सम्झौतापछि पनि युद्धका घाउ आलै
हारजङमा ऐभान पुनलाई आगो लगाएर हत्या गरिँदा उनकी छोरी शान्ति १२ वर्षकी थिइन्। आफू १२ वर्षको हुँदा आफ्नै अगाडि माओवादी कार्यकर्ताले घरमा आगो लगाइ बाबुको हत्या गरेको शान्ति बताउँछिन्। “मेरो आँखैअगाडि आगो लगाएर बुवाको हत्या गरेको मैले कसरी बिर्सिन सक्छु?” उनी भन्छिन्, “ज्याला मजदुरी गरेर परिवार पाल्ने मेरो बुवालाई के कारणले मारियो? यसको जवाफ परिवारले पाउनु पर्छ।” 

शान्ति प्रकृयापछि उक्त घटनाका मृतकका परिवारले किस्ताकिस्तामा १० लाख रुपैयाँ पाएको उनले बताइन्। तर उक्त रकमले कतिपय परिवारमा नै द्वन्द्व सिर्जना भएको उनको भनाइ छ।

कतिपय परिवारमा कमाउने छोराछोरी नै बेपत्ता हुँदा र मारिँदा अहिलेसम्म पनि बिचल्ली भएको अधिकारकर्मी तिलक घर्तीमगर बताउँछन्। उनीहरूको संरक्षणको जिम्मा राज्यले लिनुपर्ने उनी बताउँछिन्। 

१० वर्षे सशस्त्र द्धन्द्वमा बढी मार खेप्नेमध्येको जिल्ला रोल्पामा प्रायः हरेकजसो घरमा युद्धको बाछिटा बाँकी छ। २०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताले १० वर्ष लामो द्धन्दको अन्त्य गरे पनि आफूहरूको पीडामा मल्हम लगाउन नसकेको यहाँका द्वन्द्वपीडितहरू बताउँछन्। 

लुंग्री गाउँपालिका–७ हारजङका द्धन्द्वपीडित विनोद गिरी गणतन्त्र र नयाँ संविधानले खडा भएका स्थानीय सरकार पनि द्धन्द्वपीडितमैत्री नभएको बताउँछन्। “द्धन्दपीडितहरू माथि पनि राजनीतिक विभेद गरिन्छ,” गिरीले भने, “सडक, विद्युत्, खानेपानी जस्ता विकास पूर्वाधार हामीलाई अपायक पर्ने गरी विस्तार गरिएको छ। हाम्रो कुरै सुनिँदैन।”

रोल्पामा राज्य पक्षबाट ७६२ र माओवादीबाट १६५ जनाको ज्यान गएको थियो। दोहोरो भिडन्तमा आठ, पक्ष नखुलेका ११ सहित रोल्पामा जम्मा ९४६ जनाको ज्यान गएको थियो। सशस्त्र द्धन्द्वमा रोल्पामा सबैभन्दा बढीले ज्यान गुमाएका थिए। यहाँ राज्यपक्षबाट २७ र माओवादीबाट ६ गरी ३३ जना अझै बेपत्ता छन्।