प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले श्रमिक महिलालाई छुन सकेको छैन।
नेपालगन्ज- बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगन्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन्। नेपालगन्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो। आज एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उनी साथीहरूसँगै कामको खोजीमा थिइन्।
“दिवस त ठूला मान्छेका लागि हो, हुनेखानेका लागि हो हामीलाई काम नै ठूलो हो, दिवस मनाएर के गर्ने?”, नेपालगन्जमा कामको पर्खाइमा रहेकी वुधीले भनिन्, “दिवस भनेर जुलुसमा गयो भने त घरमा केटाकेटी भोकै हुन्छन् त्यसैले दिवस नमनाउने।”
शहरमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरि र सभाको तयारी भइरहँदा वुधी थारू जस्ता श्रमिक महिला कामको खोजीमा भौँतारिरहेका थिए। उनीहरूलाई प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले छुन सकेको छैन।
बर्दियाको राजापुरबाट मजदुरी गर्न नेपालगन्ज आएकी लक्ष्मी थारू भन्छिन्, “महिला दिवस मनाउन पाउने भाग्य भएको भए यहाँ किन काम खोज्दै हिँड्थ्यौँ, काम पाइयोस्, ज्याला पाइयोस् यही नै हाम्रो दिवस हो।”
नेपालगन्जमा कामको खोजीका लागि प्रत्येक दिन महिला पुरुष श्रमिक लाइन लाग्ने गर्दछन्। लाइनबाटै काम र ज्यालाको समझदारी भएपछि कामका लागि उनीहरू सम्बन्धित क्षेत्रमा जाने गर्दछन्। आज अन्तर्राष्ट्रिय महिला दिवस भए पनि मजदुर महिलाको सङ्ख्यामा कुनै कमी थिएन। “दिवसले खान लाउन दिँदैन, काम त खोज्नै पर्यो, खान बस्न पर्यो”, लक्ष्मीले भनिन्, “दिवस मनाउने मनाउनुहुन्छ, हामीलाई दिवस मनाउने फुर्सद छैन।”
अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य शान्ति ढकालले दिवसले वास्तविक श्रमिक महिलालाई समेट्न नसकेको स्वीकार गर्छिन्। दिवसलाई विना तयारी र औपचारिकतामुखी बनाइँदा पनि सम्बन्धित सरोकारवाला व्यक्ति नै छुट्ने गरेको उनको भनाइ छ।
“यो कुनै दल, सङ्गठन वा व्यक्तिले चाहेर हुने कुरा होइन, वास्तविक श्रमिक महिलालाई दिवस मनाउन सक्ने वातावरणको लागि दीर्घकालीन सोचका साथ योजना हुनुपर्दछ”, ढकालले भनिन्, “अहिले स्थानीय सरकार, सामाजिक संघसंस्था र राजनीतिक दलका भ्रातृ सङ्गठनले दिवसको मर्म विपरीत आफू अनुकूल कार्यक्रम गर्ने गरेका छन्।”
मजदुर नेता पूर्णचन्द्र उपाध्यायले वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई नछुने बताउँछन्। उनले दीर्घकालीन सोचका साथ नीतिगत रूपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सकेमात्र दिवस मनाउनुको औचित्य हुने उल्लेख गरे।
खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आफूले चाहँदा चाहँदै पनि सबै श्रमिक महिलालाई दिवसमा समेट्न नसकेको बताइन्। उनले आर्थिक कारणले पनि महिला विभेदमा परेको भन्दै उत्पादनमूलक काममा जोडिन महिलालाई आग्रह गरिन्। महिलाका सवालमा गाउँपालिकाबाट विभिन्न कार्यक्रममा बजेट विनियोजन भए पनि श्रमिक महिलाका तर्फबाट माग भई नआएकाले उनीहरूका लागि छुट्टै कार्यक्रम बनाउन नसकेको उपाध्यक्ष मल्लको भनाइ छ।
नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वास्तविक श्रमिक महिलाहरू अझै पनि दिवसको अर्थ, महत्त्व र कार्यक्रमभन्दा बाहिर रहेको बताए। “श्रमिक महिलालाई रोजगारको सुनिश्चितता, श्रमको उचित पारिश्रमिक लगायतका विषयमा यो दिवसले बोल्नुपर्ने हो तर त्यो हुन सकेको छैन”, श्रेष्ठले भने, “सबै खाले श्रम गर्ने महिलाले श्रमको उचित मूल्य पाउनुपर्नेमा सरोकारवाला सबै पक्ष लाग्नु पर्दछ।”
यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले कामको पर्खाइमा रहेका श्रमिक महिलाको स्वास्थ्य परीक्षण तथा दिवसबारे नेपालगन्जमा जानकारी गराएको छ।
श्रमिक महिलाको हक अधिकारबारे जानकारी गराउनाका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी स्यानेटरी प्याड र मास्क वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीले जानकारी दिए। उनका अनुसार नेपालगन्जमा एक सय बढी श्रमिक महिलालाई स्वास्थ्य र श्रम अधिकारका बारेमा परामर्श दिइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
