चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, डर्टमन्ड पराजित

चेल्सीका रहिम स्टर्लिङले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। हाभर्जले ५३औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता दाेब्बर पारे।

काठमाडौँ– चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। पहिलो लेगमा १–० ले पराजित भएको चेल्सी दोस्रो लेगमा पुनरागमन गर्न सफल भयो।

चेल्सीले समग्रमा २–१ को जित दर्ता गरेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा रहिम स्टर्लिङले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। हाभर्जले ५३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।

मारिअस वल्फले ह्यान्ड गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। डर्टमन्डले त्यसपछि घरेलु टोलीमाथि दबाब बढाए पनि गोल गर्न नसक्दा अन्तिम १६ बाटै बाहिरिन पुग्यो।