महिला उद्यमशीलता र स्वरोजगारलाई विकासलाई घनिभूत बनाउन जरुरी : प्रधानमन्त्री

महिला दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्व स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन्। 

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

 “राजनीतिक अधिकारले त्यति बेला मात्र सार्थकता प्राप्त गर्दछ, जति बेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ,” शुभकामना सन्देशमा भनिएको छ, “महिलाको राजनीतिक र आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ।” 

मुक्ति, समानता र स्वतन्त्रताको आकांक्षासहित शुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभर प्रत्येक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ। 

जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको प्रधानमन्त्री दाहालको भनाइ छ। 

नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको सन्देशमा उल्लेख छ।