बंगलादेशको ढाकामा साततले भवनमा विस्फोट हुँदा १४ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकामा मंगलबार एक साततले भवनमा विस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ।

तस्वीर : एपी न्यूज

बंगलादेशको राजधानी ढाकामा रहेको एक साततले व्यावसायिक भवनमा विस्फोट भएको छ। मंगलबार भएको सो विस्फोटमा परी कम्तिमा १४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।

विस्फोट ढाकाको व्यस्त व्यापारिक क्षेत्र गुलिस्तानमा भएको हो। दमकल विभागका अधिकारी रशेद बिन खालिद विस्फोट भएको स्थानमा तत्कालै पुग्न नसकिएको बताए। विस्फोटको कारणले खुलेको छैन।

दमकल विभागको ११ टोलीले विस्फोट भएको भवनमा उद्धार र खोजी कार्य जारी राखेको खालिदको भनाइ छ।

राज्य सञ्चालित ढाका मेडिकल कलेजमा तैनाथ प्रहरी अधिकारी बच्चु मियाले ५० भन्दा बढी व्यक्तिलाई उपचारका लागि ल्याएकोमा तीमध्ये कम्तिमा १४ जनाको मृत्यु भएको बताए।

त्यस्तै, आइतबार रोहिंग्या मुस्लिमहरूको शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौँ घरबारविहीन भएका छन्। मानवीय क्षति भने नभएको बताइएको छ।

बंगलादेशमा बेलाबेलामा विभिन्न औद्योगिक दुर्घटना हुने गरेका छन्। अनुगमन समूहहरूको ढिलासुस्ती र भ्रष्टाचार कारण यस्ता घटना हुने गरेको आरोप लाग्ने गरेको छ।

पछिल्लो एक दशकमा भएका औद्योगिक दुर्घटनामा १ हजार १०० जना भन्दा बढीको ज्यान गएको एपी न्यूजले जनाएको छ।

सन् २०१२ मा ढाकाको एक कपडा कारखानामा फसेका ११७ कामदारको ज्यान गएको थियो।

सन् २०१९ मा ढाकाको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारमा आगलागी हुँदा ७२ जनाको मृत्यु भएको थियो।

त्यस्तै, सन् २०२१ मा पूर्वी ढाकाको रूपगन्जस्थित औद्योगिक क्षेत्रको एक खाद्यान्न प्रशोधन गर्ने उद्योगमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको थियो।