मत माग्न राप्रपा पार्टी कार्यालय पुगे रामचन्द्र पौडेल

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपा पार्टी कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेर मत मागेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्। पौडेलसहितका नेताहरूले सोमबार बेलुका राप्रपाको पार्टी कार्यालयमा पुगेर नेताहरूसँग भेटवार्ता गरेका हुन्।

नेता पौडेलले राप्रपाका नेताहरूलाई भेटेर राष्ट्रपतिमा आफूलाई जिताउन आग्रह गरेका हुन्। राप्रपाका प्रतिनिधिसभामा १४ सांसद छन्। त्यस्तै, बागमतीमा १३, कोशीमा ६, लुम्बिनीमा चार, गण्डकीमा दुई, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक सांसद छन्। 

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार मध्यरातदेखि मतदान केन्द्र बन्द नभएसम्म शून्य समय कायम हुने जनाएको छ। यस अवधिमा निर्वाचन प्रचारप्रसार निषेध रहने आयोगको भनाइ छ। त्यसअघि राष्ट्रपतिका उम्मेदवार मत माग्न व्यस्त रहेका छन्। 

नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। राप्रपाले राष्ट्रपतिमा पौडेल र नेम्वाङमध्ये कसलाई मत दिने भन्ने विषयमा अहिलेसम्म निर्णय लिएको छैन। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुस १० गते भएको सहमतिविपरीत प्रधानमन्त्री एवं माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई सघाउने निर्णय लिएपछि राप्रपा सरकारबाट बाहिरिएको थियो। राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।