कांग्रेस सभापति देउवाले रवि लामिछानेलाई भेट्दै

कांग्रेस सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने भएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने भएका छन्। सभापति देउवाले सोमबार साँझ लामिछानेलाई भेट्ने भएका हुन्।

कांग्रेसका एक नेताका अनुसार भेटमा सभापति देउवाले लामिछानेसँग सरकारमा सहभागिताका बारेमा छलफल गर्ने भएका छन्। रास्वपालाई सरकारमा लिन देउवा सकारात्मक छन्।

नागरिकता विवादका सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि रास्वपा सभापति लामिछानेको सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो। नागरिकता पुनः प्राप्तिपछि लामिछानेले पूर्वसहमतिअनुसार आफूले गृह मन्त्रालय पाउनुपर्ने माग राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका थिए।

प्रधानमन्त्री दाहालले लामिछानेलाई गृहमन्त्री नबनाएपछि रास्वपा सरकारबाट बारिएको थियो। रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लामिछानेलाई भेटेर मत मागेका थिए। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। लामिछाने सर्वोच्चको आदेशबाट सांसद पद गुमाएपछि प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन्।