लिग-२ : भीमको अर्धशतकमा नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको लक्ष्य दिएको छ।

तस्वीर : क्यान

काठमाडौँ– भीम सार्कीको अर्धशतकीय इनिङ्ससँगै नेपालले आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईलाई २३० रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सोमबार टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।

नेपालका मध्यक्रमका भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ९९ बलमा ७ चौका प्रहार गरे। आरिफ शेखले ५६ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४३ रन बनाए।

कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, ओपनर ज्ञानेन्द्र मल्लले ११ र प्रतीश जिसीले अविजित ११ रन बनाए।

यूएईका जुनेद सिद्दिकीले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चिए ३ विकेट लिए।

रोहल मुस्तफा र आर्यान लर्काले २/२ विकेट लिए। कार्तिक मयप्पनको नाममा १ विकेट रह्यो।