चोटका कारण कुशलले यूएईविरुद्धको खेल गुमाउने

कुशलको स्थान सन्दीप जोराले लिने भएका छन्।

काठमाडौँ– ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत घरेलु टोली यूएईसँगको खेल गुमाउने भएका छन्।

तिघ्राको चोट (ग्रोइन इन्जुरी)का कारण कुशलले यूएई भ्रमणको अन्तिम खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। शुक्रबार पपुवा न्युनिनीविरुद्धको खेलका क्रममा उनको चोट बल्झिएको थियो।

“हामी कुशल भुर्तेललाई मैदानमा मिस गर्नेछौँ। तर, हामीलाई थाहा छ ऊ पहिलेभन्दा बलियो भएर फर्कनेछ,” क्यानले भनेको छ। क्यानका अनुसार कुशलको स्थान सन्दीप जोराले लिने भएका छन्।

उनी टोलीमै भए पनि यसअघि अन्तिम १४ जना खेलाडीको सूचिमा थिएनन्। नेपालले सोमबार घरेलु टोली यूएईसँग सिरिजको अन्तिम खेल खेल्दै छ।