‘ए’ डिभिजन लिगमा मनाङ र हिमालयनले अंक बाँडे

'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

काठमाडौँ– जारी 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पाले अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र हिमालयनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

मनाङले शुरूआती अग्रता जोगाउन नकस्दा अंक बाँड्न बाध्य भयो। खेलको १५औँ मिनेटमा हिमालयन शेर्पाका सञ्जीत राईले आत्मघाती गोल गर्दा मनाङले अग्रता लिन सफल भएको थियो। हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औँ मिनेटमा गोल फर्काउँदै खेललाई बारबारीमा पुर्‍याए।

‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार तीन खेल भएका हुन्। यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा विभागीय टोली एपीएफले थ्री स्टारलाई २-० ले हराएको थियो। एपीएफका लागि मणिकुमार लामा र अर्मान्ड विडोमलले १/१ गोल गरे।

त्यस्तै, ललितपुरको च्यासलमा भएको डेब्यू खेलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्‍यो। चर्च ब्वाइजको जितमा आशीष चौधरी फ्रायन्किलन क्विटेटलाले १/१ गोल गरे। पुलिसका लागि रवि पासवानले सान्त्वना गोल गरे।