माओवादी केन्द्रले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्।

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको छ। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खजराज भट्टले पार्टीले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने बताएका हुन्।

उनले बैठकमा यसअघि भएको सहमतिअनुसार मुख्यमन्त्री माओवादीले पाउनुपर्ने निर्णय भएको बताए। “आज हामीले एउटा मात्रै निर्णय गरेका छौँ। हिजोको सहमतिअनुसार मुख्यमन्त्री माओवादी केन्द्रले पाउनुपर्छ”, उनले भने, “यो सँगै पूरक निर्णयका रूपमा विश्वासको मत दिन नसक्ने निर्णय गरेका छौँ।”

उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्रबाट हुने उल्लेख गरेको स्मरण गराए। उनले नेपाली कांग्रेसलाई आफ्ना मागहरू राखेको जानकारी दिँदै ती मागलाई कांग्रेसले कसरी हेर्छ त्यसपछि आफूहरूले निर्णय लिने बताए।

नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमतिबिना मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने जनाएको छ।

मुख्यमन्त्री शाह आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। कांग्रेस संसदीय दलका नेता शाह संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ। उनलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक/एक सदस्य छन्।