तिहारमा फूल र माला पाउनै मुस्किल

तिहारमा फूल र मालाको अभाव देखिएको छ। बजारमा फूल नभेटिएपछि चाडपर्वमा घर सजाउन तथा अन्य धार्मिक, सांस्कृतिक कार्यका लागि प्लास्टिकका फूलको प्रयोग गरिएको छ।

कैलाली- कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ। यहाँका दर्जनौँ नागरिकले व्यावसायिकरूपमै फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो। टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए। “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ बिघामा खेती गरेको छु। उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो।”

४ वर्षअघि १० कट्ठा जमिनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लगेका छन्। सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिक फूल खेती गरेका छन्।

तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएका व्यापारीहरू बताउँछन्। जानकी गाउँपालिका ४ कि समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आइन्। मखमली फूलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्किइन्। “मखमली फूलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भएँ, यहाँ त सकिएका रहेछन्”, उनले भनिन्, “फूलका माला नपाएपछि प्लास्टिकका माला लिएर जाँदैछु। के गर्नु प्लास्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ।”

टीकापुर ३ कि रमिता विकले पनि बजारमा माला पाइनन्। उनी पनि माला किन्न बजारसम्म पुगेकी थिइन्। “माला नपाएपछि गाउँमै फूल खोज्न थालेकी छु”, उनले भनिन्, “विगतमा गाउँमा फालाफाल फूल हुन्थे, घरघरमा फूल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फूल पाउन कठिन छ।”

कैलालीमा फूल खेतीका लागि जग्गा अभाव छैन। हरेक नागरिकका घर २४ कट्ठा जमिनमा छन्। एक कट्ठा जग्गा नभएका निकै कम छन्। यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फूल रोप्दैनन्। घरमै फूल रोपेको भए आज फूल र माला अभाव नहुने ज्येष्ठ नागरिक धौली न्यौपाने बताउँछिन्। “हाम्रा पालामा घर वरिपरि फूलैफूल हुन्थे, कहिल्यै माला, फूल खोज्न, किन्न परेन”, उनी भन्छिन्,, “हामी फूलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फूल बजार गएर किन्छन्। मानिस कति अल्छी भएका हुन्।”

तिहार सौन्दर्यताको पर्व पनि हो। तिहारमा झिलिमिली बनाउने, घर आँगन रंगाउने, पूजाआजा गर्ने गरिन्छ। यसबेला अन्य समयभन्दा बढी फूल प्रयोग गरिन्छ। बजारमा माला र फूल अभाव भएपछि प्लास्टिकका मालाको व्यापार पनि राम्रो भएको छ। व्यापारी शिव चौधरी फूलका माला नपाएपछि धेरै मानिस प्लास्टिकका माला किन्न आएका बताए। 

संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक मानिसले घरघरमै फूलबारी बनाउन आवश्यक रहेको बताउँछन्। “घरमा थोरै भए पनि फूलबारी चाहिन्छ, फूलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्”, उनी भन्छिन्, “घरघरमै २/४ बोट फूल लगाएका भए अहिले अभाव हुने थिएन। वरिपरि जग्गा भएर पनि फूल किन्ने हामी नेपालीको बानी अनौठो छ। यहाँको फूल सकिएपछि भारतबाट आएको फूल बिक्री भएको छ।”