अमेरिका, रुस र यूएईका अन्तरिक्षयात्री सवार स्पेस एक्सको अन्तरिक्षयान प्रक्षेपण

अमेरिका, रुस र यूएईका ४ जना अन्तरिक्षयात्री ६ महिनाका अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहनेछन्।

स्पेस एक्सले चार जना अन्तरिक्षयात्री सवार अन्तरिक्षयान बिहीबार प्रक्षेपण गरेको छ। अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको पूर्वी तटीय क्षेत्रबाट स्थानीय समयानुसार बिहीबार बिहान १२ बजेर ३४ मिनेटमा यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ प्रक्षेपण गरिएको हो। यसअघि सोमबार प्रक्षेपण गर्ने तयारी गरेको यो अन्तरिक्षयान अन्तिम समयमा प्राविधिक गडबडीका कारण रद्द भएको थियो।

अमेरिका, रुस र युनाइटेड अरब इमिरेट्स (यूएई)का चार जना अन्तरिक्षयात्री सवार फाल्कन रकेट ६ महिनाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ पठाइएको हो। अन्तरिक्षयानमा यूएईका अन्तरिक्षयात्री सुल्तानअल नियादी पनि छन्। लामो समयसम्मका लागि अन्तरिक्षमा जाने उनी यूएईका पहिलो व्यक्ति पनि हुन्। यस्तै, अन्तरिक्षमा जाने उनी दोस्रो इमिराती (यूएईका नागरिक) अन्तरिक्षयात्री पनि हुन्।

यसअघि सन् २०१९ मा यूएईका पहिलो अन्तरिक्षयात्री हजा अल मन्सुर रुसी रकेटमार्फत अन्तरिक्ष केन्द्रमा पुगेका थिए। त्यतिबेला उनी त्यहाँ एक साता रहेका थिए। अहिले अन्तरिक्ष केन्द्रमा साउदी अरबका दुई अन्तरिक्षयात्री पनि छन्। अन्तरिक्षमा एकैपटक तीन जना अरबी अन्तरिक्षायात्री हुनु निकै उत्साहपूर्ण र रोचक अनुभव हुने नियादीले बताएका छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गत अक्टोबरदेखि रहेका अमेरिकी, रुसी र जापानी अन्तरिक्षयात्रीलाई यी चार जना अन्तरिक्षयात्रीले प्रतिस्थापन गर्नेछन्। यस्तै, केन्द्रमा रहेका दुई रुसी र एक अमेरिकी अन्तरिक्षयात्रीको अन्तरिक्षमा रहने समयावधि थप ६ महिना बढेको छ। अब उनीहरू आगामी सेप्टेम्बरसम्म त्यहाँ रहनेछन्।