संसद् सचिवालयको स्पष्टीकरण - राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभा बैठक सर्‍यो

संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभाको बैठक सारिएको बताएको छ।

काठमाडौँ- संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभाको बैठक पछि सार्नुपरेको बताएको छ। 

प्रतिनिधिसभाको १४औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो। तर, संघीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ। 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताए। उनले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको बताए। 

उनले भने, “आजको लागि निर्धारित भएको प्रतिनिधिसभाको बैठक आगामी चैत्र ५ गते दिनको १ बजे बस्नेगरी दिन र समय परिवर्तन भएको छ। लगत्तै आउँदै गरेको फागु पूर्णिमा, नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन साथसाथै सभामुखज्यूको छिट्टै हुने आईपीयूको भिजिट लगायतका विभिन्न कारणले चैत्र ५ गतेका लागि बैठक तोकिएको अवस्था हो।”